सुर्खेतबाट १०२ जना सैनिक पास आउट

सुर्खेत । नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतबाट १ सय २ जना नयाँ सैनिक पास आउट भएका छन् ।
आज कालिबहादुर गण कपासे व्यारेक सुर्खेतमा आयोजित दीक्षान्त समारोहमा ११ महिनाको कठिन सैन्य आधारभूत तालिमबाट दीक्षित भएका नयाँ सैनिकहरुले अन्तिम दलेल कवाज प्रदर्शन गरी पास आउट भएका हुन् ।
सैन्य आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै पृतनापति उपरथी अजुपजंग थापाले नेपाली सेनाजस्तो गरिमामय संस्थामा सिपाही दर्जामा नियुक्त हुनु भएकोमा दीक्षित सैनिकलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले राष्ट्र, जनता र संस्थाप्रति समर्पित रहँदै जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई आफ्नो कर्तव्यपथमा अडिग रहन निर्देशन दिए ।
कर्मठ, बफादार, इमान्दार, अनुशासित एवं नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालना गर्दै राष्ट्रको सेवामा समर्पित हुनु नै सच्चा सैनिकको कर्तव्य भएको उनको भनाइ थियो । त्यसअघि अन्तिम दलेल कवाज तालिमरत शिक्षार्थीको परिवारजनको उपस्थितिमा सैन्य परेड, झण्डा सलामी, सैन्य कवाज प्रदर्शन, कवाज निरीक्षण, विभिन्न विधाहरुमा उत्कृष्ट हुने सैनिकलाई पुरस्कार वितरणसँगै सैन्य सुशोभन लगायतका कार्यक्रमको पृतनापति उपरथी थापाले अवलोकन गरे ।

गत वर्ष साउन ९ गतेदेखि शुरु भएको सैन्यलाई आधारभूत तालिममा सुदूरपश्चिम प्रदेशका ७८ जना, लुम्बिनी प्रदेशका १५ जना, कर्णाली प्रदेशका ६ जना र गण्डिकी प्रदेशका ३ जना गरी १ सय २ जना पास आउट भएको कालिबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिए ।
उनले दीक्षित सैनिक मध्य ब्रामण २, क्षेत्री ४८, जनजाति ३९ र दलित १३ जना रहेको बताए । सैन्य आधारभूत तालिम समापन भएसँगै नवनियुक्त सैनिकहरु अब रिक्त विभिन्न युनिटहरुमा सामेल हुने कालिबहादुर गणका (सूचना अधिकारी) सेनानी प्रकाशकुमार गिरीले जानकारी दिए ।
कार्यक्रममा नयाँ सैनिकको पास आउट परेड अवलोकन गर्न सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाललगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु कपासे व्यारेक पुगेका थिए ।