भेरी–बबईको ६९ प्रतिशत प्रगति

कर्णालीको समृद्धिसँग जोडिएको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाले निर्माणमा सोचेजस्तो प्रगति हुन सकेको छैन् । आयोजना निर्माण ठेकदार कम्पनीले विभिन्न बहाना बनाउँदै तोकिएको समयभन्दा बढी समय खेर फालेपछि सरोकारवाला नागरिकमा निराशा छाउन लागेको हो । आयोजना २०७१/७२ मा मात्र सुरु भएको थियो । तोकिएको समयभन्दा झन्डै एक वर्षअघि पहिलो चरण (सुरुङ निर्माण) को काम सकिएको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो र तेस्रो चरणको काममा भने निर्माण ठेकेदारका कारण ढिलाइ भएको हो । पहिलो चरणमा २०७६ चैत १५ सम्म सुरुङ निर्माण गर्ने गरी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) लाई जिम्मा दिइएको थियो । कम्पनीले करिब १२.२ किलोमिटर लामो सुरुङ आफूलाई दिएको म्यादअघि नै सम्पन्न गरेको थियो । राष्ट्रिय गौरवको उक्त आयोजना निर्माणका लागि सरकारले आर्थिक वर्ष २०८४/८५ सम्मका लागि म्याद थपेको छ । सुरुमा २०७९/८० सम्म सम्पन्न गर्ने गरी थालिएको आयोजनाको म्याद ५ वर्षका लागि थपिएको हो । तर काममा भइरहेको ढिलाइले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा आशंका छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ६९ प्रतिशत मात्र भएको छ । नदीको पानीलाई मझौला नदीमा स्थानान्तरण गरी बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने उद्देश्यले अघि बढाइएका आयोजना नेपालका ठूला सिँचाइ परियोजना मध्ये एक हो ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बनाएर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिंचाइ सुविधा पु¥याउने लक्ष्य लिएको छ । यसबाट बाँके र बर्दिया जिल्लामा सिंचाइ सुविधामार्फत कृषिक्षेत्रको उत्पादन र उत्पादकत्व बढाई राष्ट्रिय ग्रिडमा थप जलविद्युत् आपूर्ति गर्ने योजना छ । झन्डै १३ वर्षअघिदेखि सुरु भएको यो परियोजनाको सुरुङको ब्रेक थ्रुपछिका कामले तीव्रता पाउन सकेको छैन् । पटक–पटक म्याद थप भई निर्माण सम्पन्न गर्ने मिति आर्थिक वर्ष २०८४/८५ सम्म पु¥याइएको आयोजनाको सुरु अवधिदेखि गत आर्थिक वर्ष २०८१/८२ सम्मको कुल समष्टिगत प्रगति ६९ प्रतिशत पुगेको छ । जसमा वित्तीय प्रगति ५४ दशमलव ८२ र ठेक्का सम्झौता अनुसार ६८ दशमलव ६३ प्रतिशत भौतिक प्रगति भएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको निर्माण ठेकेदार भनेपनि सन्तोषजनक गति लिन नसकेको छैन् । कोरोनाको कारण झन्डै २ वर्ष आयोजनाको काम प्रभावित भएको थियो । आयोजनाका लागि स्रोत सहमति नहुँदा थप बजेट व्यवस्था हुन नसक्नु पनि ढिलाइको कारण भएको ठेकेदार कम्पनीको भनाइ छ ।

कार्यक्रम संशोधनसमेत हुन समय लाग्ने, प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारमा सहमति प्राप्त हुन ढिलाइ हुने जस्ता समस्या आयोजनाले भोगेको चाहीं सत्य हो । आयोजना निर्माणका लागि ठूला यन्त्र, उपकरणका पार्टपुर्जा तथा निर्माण सामग्रीको व्यवस्थापन र ढुवानीका लागि मास्टर लिस्ट स्वीकृतिमा ढिलाइ हुने, विद्युत् ऐनले सुविधा सिफारिस गरेका निर्माण सामग्री, उपकरणलगायतका सामग्री भन्सारमा आइपुग्दा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नहुने समस्या आयोजनाले झेलेपनि निर्माण ठेकेदारसँग आयोजना पक्षले काम लिन नसक्नु अर्को कमजोरी हो । निर्माण ठेकेदार कम्पनीका अनुसार स्थानीयहरुले पटक–पटक अनावश्यक माग राखी हुलदंगा, तोडफोड, निर्माणकार्य बन्द गराउने जस्ता गतिविधिबाट, आयोजनास्थल आसपास सुरक्षाकर्मी भएपनि महसुस हुने गरी सुरक्षा प्रबन्ध नहुँदा निर्माण कार्यमा केही हदसम्म प्रभाव पारेपनि उसले भनेजति होइन् । अब दिनरात नभनी ठेकेदार कम्पनीमाथि कडाई नगरेसम्म तोकिएको समयमा काम सम्पन्न गराउन सकस मात्र होइन, असम्भव जस्तै देखिन्छ । त्यसैले सबै पक्षले आ–आफ्नो स्थानमा आयोजना निर्माण पक्षलाई खबरदारी अपरिहार्य देखिन्छ ।

Translate »