मासुमा आत्मनिर्भर कर्णाली !

‘समृद्ध कर्णाली, सुखारी कर्णाली बासी’ नारा असम्भव नभएपनि कठिन पक्कै छ । किनभने ! नारा दिनु ठूलो कुरा होइन, नारालाई कार्यान्वयन गर्नु ठूलो कुरा हो । प्रदेशमा कृषिजन्य उत्पादन बृद्धिसँगै घरेलु, साना तथा मझौला उद्योगको विकास विना कर्णाली प्रदेश समृद्धको सपना साकार गर्न कठिन देखिन्छ । सपना देख्न पाईन्छ । तर प्रतिफल विना सपना के कामको ? । पछिल्लो समय सूचना क्रान्तिले ल्याएको नवीनतम् प्रविधि तथा भूमण्डलीकरणले कर्णाली जस्ता क्षेत्रमा पारेको प्रभावका बारेमा समेत सोच्नु पर्ने बेला आएको छ । भूमण्डलीकरणले एकतर्फ नागरिक सोचको दायरा फराकिलो बनाएपनि अर्कोतर्फ नक्कलका लागि अक्कल नपुग्दा फाईदा भन्दा घाटा बढी हुने गरेको पाईन्छ । सामान्य अर्थमा भूमण्डलीकरणलाई वस्तु तथा विचारको वैश्विक फैलावट र प्रभावका रुपमा लिइन्छ । विभिन्न देशहरुबिच सम्बन्धको विस्तार, वस्तु, सेवा, पुँजी, सूचना, विचार आदिको विनिमय, परस्पर आर्थिक निर्भरता, पुँजीको प्रवाह, लगानी आदिका रुपमा भूमण्डलीकरणलाई हेर्ने गरिएको छ । त्यसैले कर्णाली जस्तो आर्थिक तथा पूर्वाधारले पछाडी पारिएको प्रदेशको  उन्नती र विकासका लागि योजनाबद्ध रणनीतिक प्रयासहरुलाई अब मूर्तरुप दिन ढिलाई गर्नु हुँदैन् ।

तर, अहिले स्वदेशी वस्तु उत्पादनलाई बढावा दिनुको सट्टा हरेक वस्तु माथिको परनिर्भरताले हामीलाई मालिक होइन, दास बनाईरहेको छ । यद्यपि ! यो कर्णाली प्रदेशको मात्र समस्या होइन, समग्र देशकै समस्या हो । योजनाबद्ध विकासको अभावमा आफ्ना उत्पादनलाई समय सापेक्ष परिष्कृत गरी आयातित वस्तुलाई निरत्साहित गर्ने नीति नहुँदा परनिर्भरता बढेको बढ्दै छ । त्यसलाई कम गर्न स्थानीय वसतु उत्पादन बृद्धिका उपायहरुको खोजी, भण्डारणदेखि ढुवानी, बजारीकरणसम्म सरकारको प्रत्यक्ष तथा अप्रत्यक्ष संरक्षकत्वको भूमिका अझै चाहिएको छ ।  कसैले भाषणमा ‘कर्णाली सम्भावना नै सम्भावनाले भरिएको प्रदेश’ भनेपनि कार्यान्वयन पाटो फिलतो हुँदा त्यो हावा गफ वाहेक अरु केही हुन सक्दैन् । किनभने ! २१ वीं सदीमा मानिस यर्थाथता र वास्तविकतामा बाँचेको हुन्छ । भन्न त ! सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिँदै गरेको कर्णाली भन्छन् । पछिल्लो समय विकासको अधिकतम् सम्भावना र चुनौती बोकेको कर्णाली प्रदेशमा दुध तथा मासु उत्पादनमा बृद्धि मात्र होइन, मासुजन्य उत्पादनमा आत्मनिर्भर नै बनेको छ ।

गएको वर्ष कर्णालीमा दूध उत्पादन २१.२९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । कर्णालीमा कुल दुग्ध उत्पादन ८१ हजार ८ सय लिटर पुगेको छ । त्यस्तै, समीक्षा वर्षमा मासु उत्पादन १.११ प्रतिशतले वृद्धि भएको छ । यसबाट प्रदेशमै बसेर केही गर्छु भन्ने उद्यमी सोच भएका युवायुवतीका लागि यो तथ्यांकले उत्साहजनक जोस ल्याएको छ । यद्यपि ! जोसमा, होस त पु¥याउनु नै पर्छ । कृषि क्षेत्रमा प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा बढी पशुपालन, पशुवधशाला शीर्षकमा १ अर्ब १६ करोड २९ लाख रहेको छ । अब प्रदेश सरकारको फोकस प्रतिफल दिने उत्पादनतर्फ बढी केन्द्रित हुन जरुरी देखिन्छ । सरकारले बनाउने आफ्नो नीति, निर्माण एवं कार्यक्रमदेखि नै साना तर महत्वपूर्ण देखिने उत्पादनका साधनलाई प्रोत्ससाहन दिने नीति अवलम्वन गर्न सके समृद्धिको यात्रामा एक खुट्किलो चढ्न सकिन्छ की !

Translate »