अमेरिकाको ग्रीन कार्ड लटरी योजना स्थगित

वाशिङ्टन (अमेरिका) । अमेरिकाले ग्रीन कार्ड ‘डाइभर्सिटी भिसा लटरी’ कार्यक्रम स्थगित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राउन विश्वविद्यालय र एमआईटीमा भएको गोलीकाण्डका मुख्य संदिग्धलाई अमेरिका प्रवेश गराउने आधार बनेको भन्दै ‘डाइभर्सिटी भिसा लटरी’ कार्यक्रम स्थगित गरेका हुन् ।

होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनअनुसार अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) लाई कार्यक्रम तत्काल रोक्न आदेश दिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिइन् । ‘यस्तो घृणित व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैनथ्यो,’ उनले संदिग्ध पोर्चुगलका नागरिक क्लाउडियो नेभेस भालेन्टेबारे टिप्पणी गरिन् ।

४८ वर्षीय नेभेस भालेन्टे ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डका मुख्य संदिग्ध हुन् । उक्त घटनामा दुई विद्यार्थीको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए । उनी एमआईटीका एक प्राध्यापकको हत्या घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ । अधिकारीहरुका अनुसार उनी बिहीवार साँझ आफैले गोली हानेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

प्रोभिडेन्स प्रहरीद्वारा अदालतमा पेस गरिएको कागजातअनुसार नेभेस भालेन्टे सन् २००० देखि विद्यार्थी भिसामा ब्राउन विश्वविद्यालयमा अध्ययनरत थिए । सन् २०१७ मा उनले डाइभर्सिटी इमिग्रेन्ट भिसा प्राप्त गरेका थिए । त्यसपछि उनले स्थायी आवास अनुमति (ग्रीन कार्ड) लिएका थिए । सन् २००१ मा अध्ययनबाट बिदा लिएपछि २०१७ सम्म उनी कहाँ थिए भन्ने विषयमा स्पष्ट जानकारी छैन ।

डाइभर्सिटी भिसा कार्यक्रमअन्तर्गत अमेरिकामा कम प्रतिनिधित्व भएका देशका नागरिकलाई हरेक वर्ष लटरीमार्फत ५० हजारसम्म ग्रीन कार्ड दिइन्छ । यो कार्यक्रम अमेरिकी कंग्रेसले स्थापना गरेको भएकाले ट्रम्प प्रशासनको निर्णयविरुद्ध कानुनी चुनौती आउन सक्ने अनुमान गरिएको छ ।

सन् २०२५ का लागि करीब दुई करोड जनाले भिसा लटरीका लागि आवेदन दिएका थिए । विजेताका पति–पत्नीसमेत समेट्दा १ लाख ३१ हजारभन्दा बढी छनोट भएका थिए । पोर्चुगलका नागरिकले भने जम्मा ३८ सिट मात्र पाएका थिए । लटरी जितेपछि आवेदकले कन्सुलेट अन्तर्वार्ता र सुरक्षा जाँचजस्ता प्रक्रिया पूरा गर्नुपर्छ ।

डोनाल्ड ट्रम्प लामो समयदेखि डाइभर्सिटी भिसा लटरीको आलोचना गर्दै आएका छन् । आप्रवासन नीति कडा बनाउने उनको रणनीतिअन्तर्गत यसअघि पनि विभिन्न घटनालाई आधार बनाएर आप्रवासनसम्बन्धी निर्णय लिइएको थियो । हालै अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकतासम्बन्धी ट्रम्पको चुनौतीमाथि सुनुवाइ गर्न सहमति दिएको छ ।

विश्लेषकहरूका अनुसार ग्रीन कार्ड लटरी निलम्बनले अमेरिकाको आप्रवासन नीतिमा थप विवाद र कानुनी बहस चर्किने संकेत गरेको छ । आर्थिक अभियान/एजेन्सीको सहयोगमा

Translate »