जता हावा, उतै लोकतन्त्र

चियापसलमा घोषित विश्लेषकहरू भेटिन्छन्, भन्छन्– ‘यसपटकको हावा परिवर्तनतिर छ ।’ अर्कोले थप्छ– ‘हावा राष्ट्रवादतिर छ ।’ तेस्रोले मोबाइलको स्क्रिन देखाउँदै भन्छ, ‘फेसबुकमै स्पष्ट छ, नयाँको लहर छ ।’ आखिर हावा नाप्ने यन्त्र कसैसँग छैन । तर हरेकको खल्तीमा आफ्नै मौसम केन्द्र छ, जहाँ आँकडाभन्दा आँकलन बढी भरपर्दो हुन्छ ।

नेपालीको घरदैलोमा चुनावी भैलो आइपुगेको छ, नियमित तालिकाभन्दा दुई वर्षअघि नै । तिथि टुटेर दशैँ चाँडै आएझैं । अहिले देशभरि एउटै कुराको चर्चा छ– चुनावी हावा कुन दिशामा वा कसको पक्षमा चलेको छ ? राजनीतिमा विचार, सिद्धान्त, घोषणापत्र, बहस, यी सबै बादल वा हुस्सुजस्तै हुन् । वर्षा हुन्छ कि हुँदैन, त्यो हावाले नै तय गर्छ । आखिर लोकतन्त्र पनि एउटा मौसम नै त हो । पाँच वर्षमा एकपटक आउने, ढकमक्क नाराले भरिने, अनि परिणाम निस्किएपछि क्रमशः हराउने । फरक यत्ति हो, यो मौसममा छाता बोके पनि भिजिनुपर्छ र घाम लागे पनि घाम ताप्न पाइँदैन ।

हावा देखिँदैन, तर सबैले देखेजस्तो कुरा गर्छन् । चियापसलमा घोषित विश्लेषकहरू भेटिन्छन् । भन्छन्, ‘यसपटकको हावा परिवर्तनतिर छ ।’ अर्कोले थपिहाल्छ, ‘हावा राष्ट्रवादतिर छ ।’ तेस्रोले मोबाइलको स्क्रिन देखाउँदै भन्छ, ‘फेसबुकमै स्पष्ट छ, नयाँको लहर छ ।’ आखिर हावा नाप्ने यन्त्र कसैसँग छैन । तर हरेकको खल्तीमा आफ्नै मौसम केन्द्र छ, जहाँ आँकडाभन्दा आँकलन बढी भरपर्दो हुन्छ ।

राजनीतिमा हावा आफै चल्दैन, चलाइन्छ । जसरी पंखा नघुमाएसम्म कोठामा हावा चल्दैन, त्यस्तै चुनावी मौसममा पनि हावालाई घुमाउन ठूलो ऊर्जा चाहिन्छ । त्यो ऊर्जा पहिला पहिला भाषण र नाराबाट आउँथ्यो । पोस्टर, प्रचार र प्रलोभनबाट आउँथ्यो । तर अहिले शैली र सुर अर्कैतिर सरेको छ । अल्गोरिदम र सोसल मिडियाले छर्ने घृणा र गाली ऊर्जा स्रोत बनेको छ । तपाईं जति अर्कालाई गाली गर्नुहुन्छ, त्यति तपाईंको चर्चाको ग्राफ उक्लिन्छ ।

हावा बनाउने कारखाना देखिँदैन, तर संकेत धेरै हुन्छन् । कुनै नेताको सभा अचानक ‘ऐतिहासिक’ भनिन्छ, उपस्थित संख्याको हिसाब कसैले गर्दैन, ‘जुम इन’ गरेर भिडको मादकता देखाए पुग्छ । अर्को दलको कार्यक्रममा खाली कुर्सी देखिए पनि समाचारमा भीडलाई क्रप गरिन्छ, सत्यलाई ट्रिम गरिन्छ, संख्यालाई सानो, तर सन्देशलाई ठूलो बनाइन्छ । सामाजिक सञ्जालमा उही भिडको फोटो सय कोणबाट घुमाइन्छ, पुरानोलाई नयाँ र नयाँलाई विशाल देखाइन्छ । यसलाई आधुनिक हावाप्रबन्धन भनिन्छ, जहाँ सत्यभन्दा सेटिङ बलियो हुन्छ ।

तर हावाको आफ्नै स्वभाव छ, जता बल पुग्छ, उतै मोडिन्छ । चुनावमा त्यो बल तीनथरी हुन्छ पैसा, पावर र पिउने कुरा । भाषण त चौथो नम्बरमा पर्छ । तर, अल्गोरिदमले चल्ने हावालाई कम आँक्नु हुन्न है, नेपालमा नयाँ र परिवर्तनको पहिलो मुख्यालय नै मोबाइलको स्क्रिन भएको छ, जहाँ क्रान्ति पनि कमेन्ट बक्सबाट शुरू हुन्छ र गठबन्धन पनि इनबक्सबाट तय हुन्छ ।

पहिलो, माल अर्थात् पैसा । लोकतन्त्रमा नोटको आवाज शंखनादभन्दा ठूलो हुन्छ । चुनाव नजिकिँदा कतिपयको घर, टोल, चौतारोमा अचानक विकास पस्छ, पर्खालमा रंग, आँगनमा टेन्ट, चोकमा खानपान । ‘जनतासँग सम्बन्ध बलियो बनाउँदै छौं’ भनेर फोटो खिचिन्छ, सम्बन्धभन्दा तस्वीर मजबूत बनाइन्छ । नोटहरू सीधै हातमा नदिइए पनि बाटो घुमेर पुग्छन्, कहिले सेवा, कहिले सहयोग, कहिले सद्‌भावनाको नाममा । लोकतन्त्रको गोपनीयता भनेको भोट हाल्दा मात्र हुन्छ, तयारी चरणमा सबै खुला खेल हुन्छ, खुला जेब हुन्छ ।

दोस्रो, मसल अर्थात् पावर । यहाँ पावरको अर्थ केवल बिजुली होइन । मांसपेशीको शक्ति पनि राजनीतिक भाषामा ऊर्जाको एक किसिम हो । टोलमा दुई–चार जना कडा अनुहार साथमा हिँडे भने सभाको तापक्रम बढ्छ । मतदाता भावुक प्राणी हो, ऊ शान्त वातावरण मन पराउँछ । जहाँ धेरै हल्ला–खल्ला हुन्छ, त्यहाँ ऊ चुपचाप लाइन लाग्छ, चुपचाप छाप लगाउँछ । चुनावी सुरक्षाको नाममा देखाइने व्यवस्थापन कतिपयका लागि मौन सन्देश हो ‘हावाको दिशा बुझेर निर्णय गर्नु, नत्र दिशानिर्देशन हामी गरिदिन्छौं ।’

तेस्रो, मालपानी अर्थात् मदिरा । यो विषयमा खुला चर्चा कम, अभ्यास धेरै हुन्छ । साँझतिर गाउँमा अचानक चहलपहल बढ्छ । राजनीति त्यो दिन अत्यन्त लोकप्रिय हुन्छ, सबै नेता मिलनसार र सबै मतदाता सम्माननीय बन्छन् । ‘भाइ, यो हाम्रो तर्फबाट सानो सत्कार’ भनेर लोकतान्त्रिक आदर–सत्कार गरिन्छ । भोट हाल्ने दिन बिहान टाउको दुखे पनि निर्णय स्थिर रहन्छ । किनकि स्मृति सुक्खा घोषणापत्रभन्दा भिजेको गिलासले बलियो बनाएको हुन्छ । घोषणापत्रका पाना सम्झन गाह्रो हुन्छ, तर अघिल्लो रातको आतिथ्य बिर्सन झन् साह्रो ।

अब प्रश्न उठ्छ, विचार कहाँ छ ? विचार चुनावी भाषणमा हुन्छ, परिणाममा कम । दलहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन जस्ता शब्द सजाएर पस्कन्छन्, जनता पढ्छन्, टाउको हल्लाउँछन् पनि । तर मतदानको क्षणमा हावा कानमा फुस्फुसाउँछ, ‘जता लहर, त्यतै सुरक्षित ।’ लोकतन्त्रमा सबैलाई विजेतासँगै देखिन मन पर्छ, हार्ने पक्षसँग सहानुभूति हुन्छ, संगत कम ।

यसपालि फेरि नयाँ शब्दावली आएका छन् ‘नयाँ’, ‘स्वतन्त्र’, ‘उज्यालो’, ‘डिजिटल राष्ट्र’ । शब्दहरू चम्किला छन् । तर भित्री बैठकमा गणित अर्कै चल्छ, कुन क्षेत्रमा कति लगानी, कुन ठाउँमा कति प्रभाव, कहाँ कति ‘व्यवस्थापन’ । चुनावी रणनीति क्याल्कुलेटरले बनाउँछ, तर विचारले सजाउँछ, सिद्धान्तले सिंगार्छ ।

हावा कहिलेकाहीँ अचानक मोडिन्छ । अन्तिम हप्ता कुनै अडियो बाहिरिन्छ, कुनै गठबन्धन बन्छ, कुनै अभिव्यक्ति विवाद बन्छ । अनि विश्लेषकहरू तुरुन्त निष्कर्ष बदल्छन्, ‘अब हावा यता सर्यो ।’ हावा सरेको कि सारेको हो, धेरैले गन्ध पनि पाउँदैनन् ।

मतदाता कम चतुर छैनन् । उनीहरू सबै बुझ्छन्, तर बोल्दैनन् । कसैसँग खुलेर लाग्दैनन्, तर भित्र–भित्र हिसाब राख्छन् । कसले के दियो, कसले के वाचा गर्यो, कसले कति खर्च गर्यो, सबै नोट गर्छन् । मतपेटिकामा उनीहरूको निर्णय त्यही नोटमै भर पर्छ ।

तर परिणाम आउँदा प्रायः विश्लेषण होइन, व्यवस्थापन बलियो देखिन्छ । भोलिपल्ट विजयी पक्षले भन्छ, ‘जनताले हाम्रो एजेन्डालाई अनुमोदन गरे ।’ पराजितले भन्छ, ‘जनता मासुभातमा बिके ।’ अलि बढी घाइतेले भन्छ, ‘धाँधली भो ।’ दुवै वाक्य बराबर शक्तिशाली हुन्छन्, सत्य जे भए पनि ।

लोकतन्त्रको सुन्दरता यही हो, सबैले आफूलाई सही ठान्न पाउँछन् ।

निर्वाचनको हावा चलिरहन्छ । कसैको टोपी उड्छ, कसैको पताका फहरिन्छ । कसैकसैको त लँगौटी नै खुस्किन्छ । तर जमीन उही रहन्छ । लोकतन्त्रको आत्मा निर्वाचन हो र निर्वाचनको आत्मा हावा ।

त्यो हावा आफूअनुकूल चलाउन जान्ने सत्तामा पुग्छ, नजान्ने दर्शक बनेर हात हल्लाउँछ । फेरि पनि प्रश्न केवल यत्ति हो, हामी हावाको पछाडि दौडिरहेका छौं, कि आफूले दिशा रोज्ने अभ्यास गर्दैछौं त ? तर लोकतन्त्रको परिपक्वता त्यतिबेला देखिनेछ, जब हावा होइन, विचार, इमान र उत्तरदायित्वले तय गर्नेछ ।  मदनलम्साल आर्थिक अभियान दैनिकमा प्रधान सम्पादक हुन् ।

Translate »