निर्वाचन सुरक्षा तयारीको अवस्था बुझ्न कर्णाली प्रदेश प्रमुख सापकोटाको स्थलगत अनुगमन तीव्र


सुर्खेत । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी कर्णालीका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी र अनुगमन तीव्र पारिएको छ ।
निर्वाचनलाई मर्यादित, व्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) जयराज सापकोटाले स्थलगत अनुगमनलाई तीव्रता दिएका छन् । उनले निर्वाचनलाई लक्षित गर्दै सुर्खेतका विभिन्न प्रहरी ईकाइहरु तथा निर्वाचन सुरक्षासँग सम्बन्धित तयारी अवस्थाको स्थलगत निरीक्षण तथा अनुगमन गरे ।
अनुगमनका क्रममा उनले प्रहरी कार्यालयहरूको सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गरिएका अन्य प्राविधिक तयारीबारे विस्तृत जानकारी लिएको प्रहरी स्रोतले जनाएको छ । उनले निर्वाचन प्रहरी र कार्यरत प्रहरी कर्मचारीलाई अनुशासन, निष्पक्षता, सजगता अपनाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन अन्तरक्रिया गरे ।


‘निर्वाचनको माहौल चरम उत्कर्षमा पुगिरहेका बेला शान्ति सुरक्षालाई असर पर्ने कुनै पनि क्रियाकलाप हुन दिनु हुँदैन,’ उनले भने, ‘नागरिकको शान्ति सुरक्षा र अमनचयनका लागि अहोरात्र परिचालित सुरक्षा फौजले आफ्नो दायित्व पुरा गर्नु पर्छ ।’ उनले शान्ति सुरक्षालाई बिथोल्ने कुनै पनि किसिमका गतिविधि र क्रियाकलाप माथि कडा निगरानी राख्न समेत निर्देशन दिए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मतदाताले सुरक्षित महसुस गर्ने गरी सुरक्षा रणनीति तय गरिएको र सबै निकायबिच समन्वय प्रभावकारी बनाउन यस्तो अनुगमन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) रामप्रकाश शाहले जानकारी दिए ।
अनुगमन टोलीले निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षाका साथै मतदानका दिन अपनाइने विशेष सुरक्षा सतर्कताबारे समेत आवश्यक निर्देशन दिएको उनले बताए ।


