

सुर्खेत । कर्णाली प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा बुधबार वीरेन्द्रनगरको चौघान पार्कमा वृक्षारोपण गरिएको छ ।
वातावरण संरक्षणसँगै प्रदेशका लागि ज्यान आहुति दिने शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न वृक्षारोपण गरिएको हो । कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र डिभिजन वन कार्यालय वीरेन्द्रनगर,सुर्खेतको समन्वयमा आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले वृक्षारोपण गरेर कार्यक्रमको विधिवत उद्घाटन गरेका हुन् ।
वीरेन्द्रनगर–७, स्थित चौघान पार्कमा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेश सभाका उप सभामुख यशोधा न्यौपाने, लगायतको सहभागितामा सौन्दर्यबद्र्धक ६० वटा विरुवा रोपण गरिएको डिभिजन वन अधिकृत राधाकृष्ण दासले जानकारी दिए । उनका अनुसार कपुर ४० वटा, कल्की फूल १० वटा, मयुर पंखि फूल १० वटा गरि जम्मा ६० वटा सौन्दर्यबद्र्धक विरुवाहरु रोपिएका हुन् ।

वृक्षारोपण कार्यले वन क्षेत्रको प्रवद्र्धन गरी जलवायु परिवर्तनको असर कम गर्न मद्दत पुग्ने विश्वास लिईएको छ । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजिक कुमार कर्ण लगायतको सहभागिता रहेको थियो ।
राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, सामुदायिक वन उपभोक्ता समूहको सदस्यहरु र सामुदायिक वन उपभोक्ता महासंघको पदाधिकारीहरुको समेत उपस्थिति रहेको वन कार्यालयले जनाएको छ ।













