

काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध कायमै राखेपछि नेपालमा दशैं, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा आपूर्ति सन्तुलन विग्रिने सक्ने देखिएको छ । चिनी आपूर्तिमाथि दबाब बढ्ने चिन्ताले चाडपर्व नजिकिइरहेको वेला सरकारले बजारको मौज्दात र आपूर्ति अवस्थाबारे चासो देखाउँदै सरोकारवालासँग छलफल थालेको हो ।
सरकारले वैकल्पिक स्रोतबाट आयात गर्न सकिने सम्भावनाबारे पनि गृहकार्य शुरु गरेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले गत बुधबार मन्त्रालयका सचिव, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रतिनिधिलाई बोलाएर चिनीको मौज्दात, बजार आपूर्ति र सम्भावित चुनौतीबारे छलफल गरिन् ।
चाडपर्वका वेला चिनी अभाव हुन सक्ने आकलनसहित भारतबाहेक अन्य मुलुकबाट आयात गर्न सकिने सम्भावनाबारे सरोकारवालासँग छलफल भएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले गत वैशाख ३० गते सूचना जारी गर्दै काँचो, सेतो तथा प्रशोधित चिनीको निर्यातलाई ‘निषेधित’ श्रेणीमा राखेको थियो । उक्त व्यवस्था आगामी सेप्टेम्बर ३० सम्म वा अर्को आदेश नभएसम्म कायम रहने बताइएको छ ।

सरकारी क्षेत्रसँग रहेको चिनीको मौज्दात न्यून देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल २० मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग करिब १ हजार ३०० मेट्रिक टन चिनी मौज्दात छ । खाद्य कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार भारतबाट जीटूजी प्रक्रियामार्फत १ हजार मेट्रिक टन चिनी ल्याउने प्रक्रिया अघि बढाइएको छ । उनले यो परिमाण भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले पाएको १० हजार मेट्रिक टन कोटाको बाँकी हिस्सा भएको बताए ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार नेपालमा मासिक करीब ३० हजार मेट्रिक टन चिनी आवश्यक पर्छ । त्यसको तुलनामा सरकारी क्षेत्रसँग रहेको मौज्दात अत्यन्त न्यून भएकाले निजी क्षेत्रको आपूर्ति नै मुख्य आधार बनेको छ ।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार हाल खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ हाराहारीमा छ र तत्काल अभावको अवस्था देखिएको छैन । ‘अहिलेसम्म प्रतिबन्धको प्रत्यक्ष असर मूल्यमा परेको छैन । तर चाडपर्वमा खपत बढ्ने भएकाले आगामी दिनमा दबाब आउन सक्छ,’ उनले भने ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले भने बजारमा तत्काल चिनी अभावको अवस्था नरहेको दावी गरे । उनका अनुसार निजी क्षेत्रसँग पर्याप्त मौज्दात छ र केही व्यापारीले आधिकारिक रुपमा भारतबाट आयात गरेको चिनी पनि बजारमा उपलब्ध छ । ‘चिनीको मूल्यमा केही सामान्य उतारचढाव हुन सक्छ, तर अहिले बजारमा अभाव छैन,’ उनले भने ।












