यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने छात्र भन्दा छात्रा बढी


काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ ।
परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी छ । कुल परीक्षार्थीमध्ये छात्रको संख्या २ लाख ५२ हजार ४ सय ३४ छ भने छात्राको सहभागिता २ लाख ५७ हजार ५ सय २७ रहेको छ ।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने यसपटकको एसइई परीक्षामा पाँच लाख नौ हजार नौ सय ६१ ले परीक्षा फाराम भरेका छन्, जसमध्ये नियमिततर्फ चार लाख ४६ हजार पाँच सय ७६ रहेका छन् ।
ग्रेडवृद्धितर्फ ६३ हजार चार सय ८५ छन् । देशभर १ हजार ९ सय ९१ परीक्षा केन्द्रबाट ११ हजार ३ सय ७९ माविले सहभागिता जनाउने छन् ।
सामूहिक अनुगमन गर्न रोक
एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । एसइई परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको परीक्षा बोर्डका उपनियन्त्रक विष्णु ज्ञवालीले बताए ।
उनका अनुसार एसइई परीक्षामा हुल बनाएर अनुगमन गर्न दिँदा त्रासको वातावरण सृजना भई परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेकाले यस्तो सामूहिक अनुगमनमा रोक लगाइएको हो ।

‘प्रत्येक जिल्ला प्रमुखको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समिति हुन्छ । त्यही समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको छ । पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न मिल्छ,’ उपनियन्त्रक ज्ञवालीले भने, ‘परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ ।’
परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर आतंक नमच्चाउन पनि बोर्डले आग्रह गरेको छ।
कर्णालीबाट ३८ हजार विद्यार्थी सहभागी हुँदै
एसइई परीक्षामा यस वर्ष कर्णालीबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका १० जिल्लाका १ सय ६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ गरी जम्मा ३८ हजार ३ सय ७९ विद्यार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।
निर्देशनालयका अनुसार परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतबाट ९ हजार ७ सय ७९ जना सहभागी हुँदै छन भने सबैभन्दा कम डोल्पाबाट ६ सय ७४ जना सहभागी हुने छन् ।
दैलेखबाट ६ हजार २ सय ५३, जाजरकोटबाट ४ हजार ८ सय १३, सल्यानबाट ४ हजार १ सय ४२, रुकुमपश्चिमबाट ३ हजार ९ सय २२, कालिकोटबाट ३ हजार ७ सय १७, जुम्लाबाट २ हजार २ सय ५५, मुगुबाट १ हजार ५ सय २४ र हुम्लाबाट १ हजार ३ सय विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यस्तै सबै भन्दा बढी सुर्खेतमा ३४, दैलेखमा २२, कालिकोटमा २०, सल्यानमा १९, जाजरकोटमा र रुकुमपश्चिममा १६/१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ७ परीक्षा केन्द्र तोकिएका छन् ।

