पश्चिम एशिया द्वन्द्व : औषधि उत्पादन र आपूर्ति प्रभावित हुने सम्भावना


वीरगञ्ज । पश्चिम एशियामा जारी अमेरिका–इरान युद्धले नेपालमा औषधि उत्पादन र आपूर्ति प्रभावित हुने चेतावनी उत्पादक र आयातकर्ताले दिएका छन् । नेपालका उद्योगले आयात गर्ने कच्चा पदार्थ र तयारी औषधिको मुख्य स्रोत भारतमै औषधि आभाव शुरू भएकाले स्वदेशी बजारमा त्यसको असर देखिने उनीहरूले बताएका हुन् ।
अबको १५ दिन युद्ध लम्बिए नेपालमा औषधि उत्पादन र आपूर्ति शृंखला अवरुद्ध हुने औषधि व्यवसायी संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालले बताए । ‘नेपालमा हुने कुल औषधि आयातमध्ये ५० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको छ । ‘हालसम्म नेपाली बजारमा औषधिको अभाव नदेखिए पनि अझै १५ दिनसम्म द्वन्द्व लम्बियो भने अभाव हुन सक्ने जोखिम छ,’ अध्यक्ष खण्डेलवालले भने ।
अधिकांश औषधि उद्योगमा प्रयोग हुने कच्चा पदार्थ पेट्रोलियम पदार्थमा आधारित छन् । पेट्रोलियम पदार्थको उत्पादन कटौती र मूल्यवृद्धिले औषधि उत्पादन प्रभावित भएको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले बताए ।
‘कच्चा पदार्थको मूल्यवृद्धिले उद्योगलाई प्रत्यक्ष असर पुर्याएको छ । कच्चा पदार्थ अभावले पनि उद्योगलाई समस्यामा पारेको छ । कच्चा पदार्थ उत्पादन गर्ने भारतीय कम्पनीहरू बन्द भएका छन् । जसले आपूर्तिमा ठूलो अवरोध सृजना गर्ने अवस्था देखिएको छ,’ उनले भने ।

भारतमा करीब २०० ओटा औषधि उद्योग बन्द हुन पुगेको र युद्ध लामो समयसम्म रहेमा क्षेत्रीय स्तरमा पनि औषधि आपूर्तिमा संकट आउन सक्ने रुंगटाको दाबी छ । नेपालका ८० ओटा औषधि उद्योगमध्ये ४० ओटाले ३ महीनाको कच्चा पदार्थ स्टक राखेको र अन्यले १५ दिनको राखेकोले अब उत्पादन प्रभावित हुने रुंगटा बताउँछन् । १५ दिन स्टक राख्ने उद्योगहरू नै ठूला बढी औषधि बनाउने उद्योग भएको उनको दाबी छ । तीन महीनाको स्टक राख्ने उद्योगको उत्पादनमा तत्काल समस्या नआए पनि १५ दिनको स्टकमा चलेका ठूला उद्योगहरूको उत्पादन कटौती हुने र यसबाट आपूर्ति खल्बलिने उद्यमीले बताएका छन् ।
‘कच्चा पदार्थ आपूर्तिकर्ता कम्पनीहरूले एलसी रद्द गर्ने र अर्डर रोक्नेजस्ता कदम उठाएकाले आपूर्तिमा समस्या झन् बढेको छ । यस परिस्थितिमा मेरै उद्योगले १८ ओटा औषधिको उत्पादन नै रोक्न बाध्य भएको छ । यस्तै स्थिति रह्यो भने आगामी १ हप्ताभित्र सबै उद्योगले उत्पादन घटाउने अवस्था आउने देखिन्छ,’ मारुती फर्माका प्रबन्ध निर्देशक रहेका रुंगटाले भने ।
औषधि उत्पादनमा अवरोध आउँदा औषधि अभाव र महँगी दुवै समस्या हुने उत्पादकले बताएका छन् । सरकारले औषधि उत्पादन क्षेत्रलाई सुचारु राख्न र आपूर्ति व्यवस्थापन गर्न प्याकेजमार्फत उद्योगलाई सहयोग उपलब्ध गराउनुपर्ने माग उनीहरूको छ । ‘कच्चा पदार्थको आयात सहज बनाउने, उद्योगहरूलाई वित्तीय सहुलियत दिने र आपूर्तिकर्तासँग सहकार्य गरी आपूर्ति शृंखला सुधार्ने उपायहरू अपनाउनुपर्छ । समयमै सहयोग पुर्याए औषधि अभावको समस्या रोक्न सकिन्छ,’ रूंगटाले भने ।
नेपालको औषधि बजार करीब १ खर्ब रूपैयाँको रहेको मानिन्छ । यसमध्ये ६० प्रतिशत स्वदेशी उद्योगहरूले धानेका छन् । बाँकी ४० प्रतिशत बजार आयातित औषधिले ओगटेको छ । ‘स्वदेशी उद्योगको योगदान उल्लेखनीय देखिए पनि ती उद्योगहरू पूर्ण रूपमा आत्मनिर्भर छैनन् । अधिकांश कच्चा पदार्थ र सहायक सामग्रीका लागि आयातमै भर पर्नुपर्छ । बाह्य आपूर्ति प्रणालीमा सानो अवरोध आए पनि उत्पादनमा प्रत्यक्ष असर पर्ने अवस्था रहन्छ,’ खण्डेलवालले भने । (आर्थिक अभियान)

