सुर्खेतको सादिखोलामा एम्बुलेन्स चालक माथि हातपात गर्ने तीन जना पक्राउ


सुर्खेत । सुर्खेत प्रहरीले एम्बुलेन्स चालकमाथि हातपात गरी एम्बुलेन्स तोडफोडमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका–११, का २० वर्षिय प्रविण गहतराज, १८ वर्षिय विशाल विक र १९ वर्षिय विशाल विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार गएराती रुकुम पश्चिमको चौरजहारीबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२.००१ झ ०१३८ नम्बरको एम्बुलेन्सलाई सुर्खेतको सादिखोलामा रोकेर मादक पदार्थ सेवन गरेका ५/६ जनाको एक समूहले चालकमाथि हातपात गर्नुका साथै एम्बुलेन्स तोडफोड गरेको थियो ।

घटना लगतै एम्बुलेन्स तोडफोड र चालकमाथि हातपात गर्ने उक्त समूहको खोजी गर्ने क्रममा आज दिउँसो प्रहरीले तीनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।
उनले उक्त समूहको आक्रमणबाट सल्यानको कुमाख गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्सको सिसा र बडीमा क्षति पुग्नुका साथै चालकमाथि सामान्य हातपात भएको बुझिन आएको बताए ।
सल्यानको कुमाख गाउँपालिका–३, का ३२ वर्षिय एम्बुलेन्स चालक बसन्त शर्माले आफूलाई कुटपिट गर्नुका साथै एम्बुलेन्स तोडफोड गरेपनि बिरामीलाई सकुशल नेपालगन्ज पु¥याएको प्रहरीलाई दिएको जाहेरीमा बताईएको छ ।
घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।

