जौं खेतीतर्फ किसानको आकर्षण बढ्दै

मुगु । परम्परागत रुपमा उपेक्षित मानिँदै आएको जौं बालीको महत्व पछिल्लो समय बढ्न थालेको छ ।

जलवायु परिवर्तन, खाद्य संकट र स्वास्थ्यप्रति बढ्दो सचेतनासँगै किसानहरु फेरि जौं खेतीतर्फ आकर्षित हुन थालेका छन् । पहिले धान, गहुँ र मकैलाई प्राथमिकता दिने किसानहरु अहिले जौं खेतीतर्फ फर्किन थालेका छन् ।

कम पानीमा उत्पादन हुने, चिसो हावापानीमा राम्रोसँग फस्टाउने तथा रोग–कीराको असर कम पर्ने भएकाले जौं खेती सजिलो र भरपर्दो विकल्पकारुपमा देखिएको स्थानीय कृषकको भनाइ छ । अहिले छायाँनाथ रारा नगरपालिका र आसपासका गाउँहरूमा जौं खेती विस्तारहुँदै गएको छ ।

स्थानीय किसानहरुका अनुसार जौंबाट बनाइने ढिँडो, सात्तु,, आलन, रोटी तथा पेय पदार्थहरु पोषिलो मात्र नभई पशु चौपायालाई दाना र खोलेकोरुपमा प्रयोग तथा मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छन् । पछिल्लो समय बजारमा जौंबाट बनेका परिकारहरुको माग बढेसँगै यसको व्यापारिक सम्भावना पनि देखिएको छ ।

‘पहिले जौंलाई खासै महत्व दिइँदैनथ्यो, तर अहिले उत्पादन सजिलो र स्वास्थ्यका हिसाबले राम्रो भएकाले हामीले फेरि यसको खेती बढाउन थालेका छौं,’ छायाँनाथरारा नगरपालिका–५, ढुमका कृषक लाप्से बिकले भने, ‘विशेष गरि सातुका लागि यश बालीको माग धेरै छ ।’ त्यस्तै, सोही नगरपालिका–३, माथितुमका कृषक प्रकाश भण्डारीले भने, ‘जौं खेतीमा लागत कम लाग्छ र उत्पादन राम्रो हुन्छ ।

बजारमा माग पनि बढ्दै गएकाले आम्दानीको राम्रो स्रोत बन्न थालेको छ ।’ जौंमा प्रोटिन, फाइबर तथा विभिन्न भिटामिनहरु प्रशस्त पाइने भएकाले यसलाई ‘सुपर फुड’ का रुपमा पनि लिन थालिएको छ । साथै, जैविक खेतीका लागि उपयुक्त बाली भएकाले मुगु जस्तो दुर्गम क्षेत्रमा यसको उत्पादन विस्तार गर्न सकिने सम्भावना रहेको छ ।

स्थानीय तहले पनि जौं खेती प्रवर्द्धनका लागि बीउ वितरण, तालिम तथा प्राविधिक सहयोग सम्बन्धि कुनै चासो नदेखाए को र यस खेतीलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्ने योजना हाल कसैले नबनाएको स्थानीय कृषकहरुको गुनासो छ ।

यसरी, लामो समयसम्म अपहेलित बनेको जौं बाली अहिले मुगुमा पुनः पहिचान पाउँदै आर्थिक तथा पोषण सुरक्षाको महत्वपूर्ण आधार बन्दै गएको देखिन्छ । हाल जौं खेती मुगु जिल्लाका सबै भेगमा गरिँदै आएको भएपनि लेकाली भेगमा बढी नै जौ उवा , फापर जस्ता अन्न बालीहरुको खेती गरिँदै आएको छ ।

Translate »