घरजग्गाको कारोबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम

सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेशमा घरजग्गा कारोवार सबैभन्दा कम हुने गरेको पाईएको छ ।

घरजग्गाको कारोबार संख्याका आधारमा राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवदेनले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम कारोबार हुने गरेको देखाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालमा रियल इस्टेट बजारको अवस्थाबारेको प्रतिवेदनले उक्त कुरा देखाएको छ ।

घरजग्गाको कारोबार संख्याका आधारमा मधेश प्रदेश अग्रस्थानमा देखिएको छ । प्रतिवेदनअनुसार मधेश प्रदेशपछि लुम्बिनी प्रदेश र कोशी प्रदेश छन् । कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा मधेश प्रदेशको हिस्सा सबैभन्दा उच्च छ । त्यसपछि कोशी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् ।

जग्गाको कारोबार भएको क्षेत्रफलका आधारमा मधेश प्रदेशबाहेक सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरु सबैभन्दा बढी कारोबार हुने गरेको छ । मधेश प्रदेशमा भने २० आनाभन्दा माथिका प्लटहरूमा बढी कारोबार देखिएको छ ।

घोषित मूल्य (थैली रकम) का आधारमा बागमती प्रदेश अग्रस्थानमा रहेको छ । महानगर तथा उप–महानगरपालिकामा ५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा बढी कारोबार भएको देखिएको छ ।

Translate »