किन बढ्दैछ विकृती ?


हिजोआज जहाँतहाँ विकृति बढिरहेको छ । सडकदेखि सदनसम्म, व्यक्तिदेखि घर/परिवार हुँदै समाजसम्म, विद्यालयदेखि कार्यालयसम्म कोहीले कोहीलाई मान्दैन् । सरकारमा बस्नेहरुदेखि गाउँका वडा तहसम्म बस्ने पनि उस्तै देखिएका छन् । यस्तो प्रवृत्तिले समाजमा विकृतिलाई मलजल गरिरहेको छ । कर्णाली जस्ता भौगोलिक विकटता र कम विकसित प्रदेशमा यस्ता खाले विकृतिहरु बढी मौलाईरहेका छन् । कुनै एक क्षेत्र त्यस्तो भेटिन्न जहाँ विकृति नमौलाएको होस् । बसका कर्मचारीले यात्रुलाई राम्रो व्यवहार गर्दैनन् । सुरक्षाका लागि खटिएका कर्मचारी आफैं भक्षक छन् । कर्मचारी सेवाग्राहीलाई सहजीकरण गर्न बसेका हुन् तर उनीहरु आफैं शासक पल्टन्छन् । विद्यार्थी शिक्षकमाथि हाबी हुन खोज्छ । शिक्षक पनि शिक्षक कम, राजनीतिक कार्यकर्ता बढी भएको देखा पर्दैछ । गाउँका गन्यमान्यहरु हेपिन थालेका छन् । बढ्दो सामाजिक विकृतिले कर्णालीमा पछिल्लो ५ वर्षमा ८ सय ५२ वटा बलात्कारका मात्र घटना दर्ता भएका छन् । ती घटनामा ८ जनाको हत्या भएको छ । प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर–७ भानुचोककी २४ वर्षीया रिचा पुन मगरको अपहरणपछि बलात्कार गरी हत्या गरिएको घटना यसैको एक उदाहरण हो ।

२०७८ साल असोज २६ गते प्यूठानका ४० वर्षीय वीरेन्द्र गिरीले रिचालाई वीरेन्द्रनगरबाटै अपहरण गरी शरीर बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो । यस्तै सुर्खेतको लेकबेशी नगरपालिका–१ ढावखर्ककी ७ वर्षीया मनिषा सुनारलाई स्थानीय तीन जना युवकले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९मा १५५, २०७९/०८० मा २०७, २०८०/०८१ मा २०९, २०८१/०८२ मा १७४, २०८२/०८३ मा १०७ वटा बलात्कारका घटना दर्ता भएका छन् भने ६ जनाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटनाहरु धेरै समयसम्म लुकेर बस्न नसक्ने हुँदा उजुरीको संख्या बढेको देखिएको छ । साथै सामाजिक सञ्जालको दुरुपयोगले पनि यौन हिंसाका घटना बढ्दै गएको प्रहरीको भनाइ छ । वीरेन्द्रनगर नगरपालिका ११ की १६ वर्षीया इनिसा विकको मृत्यु प्रकरणमा चार नाबालक अहिले पुर्पक्षका लागि सुधारगृहमा छन् । मुलुकमा दुईतिहाइ युक्त सरकार शासनसत्तामा छ । अझ भनौं, उसले शासन गरिरहेको छ ।
यस्तो बेलामा विकृति कम होला र यसका स्रोतहरु माथि प्रहार होला भन्ठानेका नागरिकलाई त, झन् बढ्दो सामाजिक विचलनले चिन्तित तुल्याएको छ । आमाले छोरी मार्ने, बाबुले छोरी बलात्कार गर्ने, आफन्त–आफन्तबीच नै लडाइँ हुने अवस्था सही हुन सक्दैन् । शिक्षक–विद्यार्थी तनाव, आमा/बाबु र सन्तानबीच दूरी बढ्दो, हाकिम र कर्मचारीबीच रिसराग, ठूला–सानाबीच द्वेष आदि किन बढिरहेका छन् ? के त्यसलाई निन्यत्रण गर्ने कुनै उपाय छैन हामीसँग ? यी सबैको एकमुष्ठ उत्तर हुन सक्छ– हामीले सही शिक्षा लिएनौं । वा लिए पनि त्यसलाई कार्यान्वयन तहमा ल्याउन आवश्यक ठानेनौं । परिणाम, आज हामी जो भोगिरहेका छौं । यस्तो अवस्थामा हामी सबैले आफूले गरिरहेको कामको पुनमूल्यांकन गर्नु जरुरी छ । के मैले ठिक गरिरहेको छु ? भनेर एकाध मिनेट सोच्ने हो भने पनि धेरै समस्याको समाधान स्वतः निस्कन्छ । तर विडम्बना ! हामी यो गर्न तयार छैनौं । बरु उल्टै अरुलाई अर्ती उपदेश दिएर थाक्दैनौं । अरुलाई उपदेश दिनुअघि सोचौं त, के हामी सही मार्गमा छौं ? के हामी विकृतिको खाडलबाट उम्कन सकेका छौं ? कतै हामी नै बढ्दो विकृतिको स्रोत बनिरहेका त छैनौं ? यतिमात्र सोच्न सके पनि धेरै हदसम्म सुधार सम्भव छ ।

