बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई साढे १० लाख क्षतिपूर्ति


सुर्खेत । कर्णाली प्रदेश वन निर्देशनालय सुर्खेतले बँदेलको आक्रमणबाट मृत्यु भएको परिवारलाई क्षतिपूर्तिबापत साढे १० लाख रुपैयाँ प्रदान गरेको छ ।
निर्देशनालयले गएको माघ २४ गते दैलेखको भैरवी गाउँपालिका–५, बईटाकुरामा गोठाला गएको बेला बँदेलको आक्रमणबाट मृत्यु भएका ४५ वर्षिय पदमबहादुर विष्टका परिवारलाई आज उक्त रकम क्षतिपूर्तिबापत प्रदान गरेको हो ।
वन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका अनुसार कर्णाली प्रदेश सरकारका तर्फबाट १० लाख र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका तर्फबाट ५० हजार रुपैयाँ क्षतिपूर्तिबापत पीडित परिवारलाई प्रदान गरिएको निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
उनले कर्णाली प्रदेश सरकारका तर्फबाट दिईने १० लाख रुपैयाँ डिभिजन वन कार्यालय दैलेख मार्फत पीडित परिवारको बैंक खातामा प्रदान गरिएको बताए ।

उनका अनुसार आजै राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका कार्यालय प्रमुख अजित तुम्बाहाङफे, डाक्टर विकल्प कार्की, निर्देशनालयका डिभिजनल वन अधिकृत गणेण त्रिपाठी, सहायक वन अधिकृत सूर्यप्रसाद शर्मा, डिभिजन वन कार्यालय (भेरी) बाबियाचौरका सहायक वन अधिकृत शेरबहादुर रोकायको उपस्थितिमा मृत्तककी पत्नी मागिसरा विष्टलाई उक्त रकम प्रदान गरिएको हो ।
२०८२ माघ २४ गते घरनजिकै गाईभैंसी गोठाला गएका बेला घर फर्किने क्रममा बँदेलको आक्रमणबाट ४५ वर्षीय पदमबहादुर विष्टको मृत्यु भएको थियो ।
यता मृत्तक भाई महेश विष्टले भने भैरवी गाउँपालिकाले दिने घोषणा गरेको क्षर्तीपूर्तिबापतको राहत रकम हालसम्म पनि नदिएको गुनासो गरे ।


