कर्णालीलाई सुन्ने मात्र होइन, अब देख्ने गरी पीएसवी अघि बढ्छ : मन्त्री सुब्बा

सुर्खेत । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णालीलाई सुन्ने मात्र होइन अब देख्ने गरी (सार्वजनिक प्रसारण सेवा) पीएसवी अघि बढेको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गर्दै उनले सार्वजनिक प्रसारण सेवा मार्फत नेपाल टेलिभिजन र रेडियो नेपाललाई अझ बढी जनता केन्द्रित बनाउन लागिएको बताएका हुन् ।

उनले जनतालाई पहिलो प्राथमिकतामा राखेर कर्णाली प्रदेशका विभिन्न गतिविधिलाईलाई रेडियोसँगै टेलिभिजनमार्फत सुन्ने र देखाउने जिम्मेवारी पीएसवीले लिएको बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीलाई केन्द्रविन्दुमा राखेर नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालय र रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ गरिदिएको पीएसवीसँगै नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । उनले कर्णालीको भूगोललाई ध्यानमा राख्दै थप कर्णाली डिजिटलाईजेशन गर्न संघ सरकारलाई सहयोग गर्न आग्रह गरे ।

लोप हुँदै गईरहेको खस भाषाको उद्गम थलो कर्णालीलाई संघ सरकारले विशेष प्राथमिकता दिएर सकारात्मक संदेश दिएको उनको भनाइ थियो । कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष महेन्द्र विष्टले जनता केन्द्रित सार्वजनिक प्रसारण सेवालाई भरपर्दो र बलियो बनाउन तीनै तहका सरकारको सहयोगको विशेष खाँचो रहेको औल्याए ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपाल टेलिभिजनको कर्णाली व्यूरो कार्यालयको उद्घाटन तथा रेडियो नेपालबाट खस भाषाको समाचार शुभारम्भ कार्यक्रममा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याललगायत संघ तथा प्रदेश सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Translate »