हुलाक सेवालाई वस्तु तथा सेवा प्रवाह गर्ने संयन्त्रमा विकास गरिँदैछ : मन्त्री गुरुङ

सुर्खेत । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई समयसापेक्ष परिस्कृत गर्न सरकारले आवश्यक तयारी शुरु गरेको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा हुलाक निर्देशनालयको नवनिर्मित तीन तले भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले करिब डेढ वर्ष पुरानो ईतिहास बोकेको हुलाक सेवालाई अब आधुनिक प्रविधिमैत्री बनाएर सूचना प्रवाह गर्ने संयन्त्रलाई वस्तु तथा सेवा प्रवाह गर्ने संयन्त्रमा विकास गरेर जनताको घरदैलोमा सेवा पु¥याउने सरकारको लक्ष्य रहेको बताएका हुन् ।

उनले प्रविधिको विकासले सूचनाका लागि हुलाक सेवामा मात्रै भर पर्नुपर्ने बाध्यता हटे पनि हुलाकप्रति चासो र विश्वास अझैपनि जनतामा कायमै रहेको जनाए । समयसापेक्ष ऐन, नियम बनाएर अनुभवी कर्मचारीको स्थायित्व र व्यवसायिक कार्ययोजना बताउँदै हुलाक सेवालाई प्रभावकारी बनाउन सरकार नीतिगतरुपमै अघि बढेको उनको भनाइ थियो ।

कार्यक्रममा हुलाक सेवा निर्देशनालय सुर्खेतका निर्देशक रेखा गौतमले करिब ५ करोड २७ लाखमा निर्मित भवन बनेपछि हुलाक सेवालाई विविधिकरण गरेर सेवा प्रवाहमा सहजता भईरहेको बताईन् ।

उनले तीन तले नवनिर्मित भवनमा एउटा हलसहित २१ वटा कोठाहरु रहेको जनाईन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलगायत संघीय तथा प्रदेश सरकारका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Translate »