जीवन निर्वाहको प्रमुख आधार मिश्रित खेती

मुगु । मुगुका किसानहरू अहिले पनि पुस्तौँदेखिको परम्परा अनुसार एउटै जमिनमा दुई वा दुईभन्दा बढी बाली सँगै खेती गर्ने प्रचलनलाई निरन्तरता दिइरहेका छन् ।

आधुनिक प्रविधि र बजारमुखी खेती विस्तार हुँदै गएपनि यहाँको भौगोलिक अवस्था, मौसमको प्रकृति र जीवनशैलीका कारण मिश्रित खेती अझै पनि जीवन निर्वाहको आधार बनेको हो।

पाखो खेतमा धानसँगै तिल, भटमास, मकैसँगै कोदो, आलु,फापर वा तोरी लगाउने परम्परा यहाँ सामान्य छ । यसरी खेती गर्दा जमिनको उब्जाउ शक्ति लामो समयसम्म जोगिने, रोग–कीराको प्रकोप घट्ने र एउटै समयमा अन्न, दलहन तथा तेलहन बाली उत्पादन हुने भएकाले किसानहरूलाई खाद्यान्न र पोषण दुवैमा सहयोग पुग्छ ।

स्थानीय कृषक रङ्गबहादुर कार्कीका अनुसार मिश्रित खेतीले एकातिर जमिनको सदुपयोग हुन्छ, अर्कोतिर बालीबिचको पारस्परिक लाभका कारण उत्पादनमा कमी आउँदैन । हामीलाई बजारबाट किन्ने झन्झट पनि घट्ने गरेको उनको भनाइ छ ।

सिपा हितान, वडा नं १ छायाँनाथरारा नगरपालिकाले भनिन्, ‘धेरै पहिले देखिनै यस्तो खेती हुँदै आएको हो । हामीसँग ठुला जमिन छैनन्, त्यही भएर एउटै खेतमा धेरै बाली लगाउँदा खानपिनको अभाव हुँदैन । माछा, मासु नखानेले पनि भटमास, तिलजस्ता बालीबाट तेल र प्रोटिन पाउँछन् ।’

सोही वडाकी अर्की कृषक झुप्री नेपालीले भनिन्, ‘मकैसँगै कोदो र फापर लगाउँदा एकै चोटि चामल, रोटी, ढिँडो सबैको व्यवस्था हुन्छ । मौसम पनि चाँडै बदलिने हुँदा एउटै बालीमा भर पर्नु जोखिम हुन्छ, त्यसैले मिश्रित खेती नै सुरक्षित हो ।’

कृषि प्राविधिकहरूका अनुसार, हिमाली भेगमा समय, तापक्रम र पानीको उपलब्धता सीमित हुने भएकाले मिश्रित खेतीजस्तो परम्परागत प्रणाली अझै पनि उपयुक्त छ । यसले प्राकृतिक स्रोतको सही उपयोग गर्ने मात्र होइन, विपद्को समयमा खाद्य सुरक्षा कायम राख्न पनि मद्दत पुर्‍याउँछ ।

Translate »