जनप्रतिनिधिबाटै सार्वजनिक सम्पत्ति माथि भईरहेको दुरुपयोग रोक्न जनमोर्चाको माग

सुर्खेत । राष्ट्रिय जनमोर्चाले जनप्रतिनिधिबाटै सार्वजनिक सम्पत्तिलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको प्रति चिन्ता जाहिर गरेको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको ‘भ्रष्टाचार विरुद्धको विरोध सभा’मा बोल्ने अधिकांस वक्ताहरुले जनप्रतिनिधिदेखि विभिन्न तहका सरकारी कर्मचारीहरुले जनताले तिरेको करबाट उठेको सम्पत्तिलाई आफुखुशी खर्च गर्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाको केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले दिनप्रतिदिन बढ्दो महँगीसँगै भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल हुँदा आम नागरिकमा व्यवस्थाप्रति नै वितृष्णा बढिरहेको बताए ।

उनले ‘भ्रष्टाचारमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय बेखर जस्तै बनेको छ,’ उनले भने, ‘विकास कार्यको हरेक चरणमा जनतामार्फत निगरानी र मूल्याङ्कन गर्नुपर्ने बाध्यता आईलागेको छ ।’

उनले भ्रष्टाचारको जड उखेल्न दीर्घकालीन संघर्ष आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय जनर्मार्चाका केन्द्रिय सदस्य रत्नविक्रम प्यासीले स्थानीय पालिकादेखि संघीय संरचनाको शासन, प्रशासनमा व्यापकरुपमा फैलिएको भ्रष्टाचार राष्ट्र र समाजको प्रगतिको मुख्य अवरोध भएको बताए ।

उनले बजेट वितरणदेखि निर्माण कार्यसम्म पारदर्शिता नअपनाइएका कारणले विकासे योजनाहरु जनतामैत्री हुन नसको जनाए । नेकपा मसाल सुर्खेतका प्रवक्ता मोहन थापाले जनताको करबाट सङ्कलित रकम दुरुपयोग भएको, योजना तथा विकास निर्माणमा पारदर्शिता नअपनाईँदा जनताले पाउनु पर्ने सेवासुविधामा प्रतिकुल असर परिरहेको बताए ।

जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर शाहीले बढ्दो भ्रष्टाचारले सेवासुविधाको गुणस्तरमा समेत सिधा असर पारेको जनाए । राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरी भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने र जनतालाई सचेत गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम जनमोर्चा सुर्खेतका सचिव विष्णुप्रसाद शर्माले सञ्चालन गरेका थिए भने जिल्ला उपाध्यक्ष भूपेन्द्र नेपालीले स्वागत मन्तव्य राखेका थिए ।

Translate »