नेपाली सेनाद्वारा डोल्पाबाट बाढीमा परी घाइते महिलाको हवाई उद्दार


सुर्खेत । नेपाली सेनाले डोल्पाबाट बाढीमा परी गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्दार गरेको छ ।
सेनाले जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आएको बाढीमा परी गम्भीर घाइते ४४ वर्षीया रेउली विकलाई आज हेलिकप्टरबाट उद्दार गरी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याएको हो ।

आज बिहान धुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि विकसहित ६ जना घाइते भएका थिए । कम्मरभन्दा तलको भागमा गम्भीर चोट लागेर घाइते भएकी विकलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ ।
बाढीमा परी स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बताइन् । उनका अनुसार त्यहाँ प्रभावित घरपरिवारलाई राहत लगायत व्यवस्थापन कार्य भइरहेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, राहत तथा क्षतिको विवरण संकलनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन भएका छन् ।

