लोकतन्त्र मर्यादित र अनुशासित प्रणाली : प्रधानमन्त्री
असोज ३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, निरङ कुशतन्त्रको विकल्प र विधिको शासन भएको बताए । शनिवार सैनिकमञ्च, टुँडिखेलबाट संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै उनले लोकतन्त्र निरङकुशतन्त्रको विकल्प हो भन्दै लोकतन्त्र विधिको शासन भएकाले मर्यादित र अनुशासित प्रणाली भएको बताए । प्रधानमन्त्री ओलीले लोकतन्त्रमा असहमत स्वरहरुले स्थान पाउँछन्, पाउनु पनि पर्छ भन्दै तर हल्लाबाट प्रभावित हुने र जता हावा बग्छ त्यतै बरालिने परिपाटी लोकतन्त्र होइन भने । उनले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताए ।
अख्तियारको दुरुपयोग, भ्रष्टाचार र अनियमितता नियन्त्रण चुनौतिपूर्ण रहेको बताउँदै उनले भने, ‘मैले पटकपटक भन्दै आएको छु–भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ र भ्रष्टाचारीका बिरुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ उनले भ्रष्टाचार बिरुद्धको सरकारको अभियानमा नियामक निकायहरुले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । संविधानसभाद्वारा संविधान जारी भएसँगै एकतन्त्री शासन समाप्त भएको बताउँदै उनले भने, ‘आफैंले, आफ्ना लागि बनाएको यो राज्य प्रणालीमा खाल्डा र खुल्डी भए सम्याउन सकिन्छ । तर यसलाई सुदृढ गर्नुको साटो विगतको निरंकुश प्रणालीलाई झैं यसका विरुद्ध जानीनजानी माहोल खडा गर्न कुनै पनि हालतमा उचित हुनै सक्दैन ।’