‘कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरिने’
चैत ७, रुकुम । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्ष ०७९–०८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन् ।
सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासङ्घ शाखा कार्यालय रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुरु गरेको जानकारी दिए । उनले काठमाडौँबाट पोखराको सडक दुरी २ घण्टा कायम गराउने गरी योजना बनाइरहेको र ग्रामीण क्षेत्रका उत्पादनले सहजै बजार पहुँच पाउने कुराको सुनिश्चितता गरिने पनि उल्लेख गरे ।
हाल अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले त्यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए । (रेडियो नेपाल)