राष्ट्रिय खाद्य बैङ्क प्रदेश समिति गठन
स्काई न्यूज /चैत ९, सुर्खेत । राष्ट्रिय खाद्य बैङ्क लिमिटेडको कर्णालीप्रदेशस्तरीय समिति गठन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार सम्पन्न भेलाले कर्णालीप्रदेशसभा सदस्य पद्मा खड्काको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा पूर्णप्रसाद पौडेल, चन्द्र थानी, शान्ति सिंह, देवप्रसाद पौडेल, भीमसेन पुन, प्रेम शाही, दीपबहादुर महतारा, हेमन्त वली, तारा गिरी, निरक वली, पूर्णप्रसाद आचार्य र यज्ञ ढकाल सदस्य रहेका छन् ।
‘पोषिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ स्थापना भएको खाद्य बैङ्कले छिटै प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने जनाएको छ । खाद्य बैंक लिमिटेडका संयोजक खड्काले किसानलाई आत्मनिर्भर बनाउन, अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादनलाई प्रोत्साहन गर्न, बीउ बिजन बैङ्क सञ्चालन गर्न, खाद्य तथा कृषि अनुसन्धानलाई जोड दिने उद्देश्यले कर्णालीमा बैङ्कको शाखा स्थापना भएको जानकारी दिइन ।