‘विज्ञापन बजार कर्णालीसम्म पु¥याउन माग’

स्काई न्यूज /चैत ९, सुर्खेत । कर्णालीका सञ्चार उद्यमीहरुले विशेष प्याकेजमै कर्णालीबाट सञ्चालित साना लगानीका सञ्चार गृहलाई लोक कल्याणकारी विज्ञापनको रकम बढाउनु पर्ने माग गरेका छन् । विज्ञापन बोर्डका अध्यक्षका लक्ष्मण हुमागाईसँग बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका सञ्चार उद्यमी तथा पत्रकारहरुले गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञापनको बजारलाई बढाउन सकेमात्रै सञ्चारमाध्यमहरुले निष्पक्ष रहेर काम गर्न सक्ने अवस्था हुने धारणा राखे ।

उनीहरुले कर्णालीबाट करोडौंको विज्ञापनको रकम राष्ट्रिय पत्रिकाका नाममा काठमाडौं जाने गरेको भन्दै सरकारले केही निश्चित मापदण्ड बनाएर कर्णालीको विज्ञापनलाई कर्णालीमै सदुपयोग गर्ने वातावरण मिलाई दिन विज्ञापन बोर्डसँग आग्रह गरे । बहुराष्ट्रिय कम्पनीका काठमाडौंमा उत्पादित विज्ञापन कर्णालीमा पुग्नै नसकेको जानकारी गराउँदै विज्ञापन बजारलाई समेत समावेशी बनाउनु पर्ने उनीहरुको भनाइ थियो ।

 

यता विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापन बोर्डले छिट्टै स्थानीय विज्ञापनलाई स्थानीय तहकै सञ्चारगृह मार्फत प्रकाशन तथा प्रसारण गुर्नपर्ने ऐन, नियम ल्याउन लागिएको जानकारी दिए । उनले सञ्चार गृह र विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउने गरी बोर्ड नीतिगत रुपमै अघि बढेको जिकिर गरे ।

विज्ञापन बजारको विकासका लागि नयाँ ढोका खोल्ने बताउँदै प्रदेश स्तरीय विज्ञापन बोर्ड समिति समेत बनाउन लागिएको उनको भनाइ थियो । कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख गोपल थापा, सञ्चार उद्यमी दिपककुमार बुढा, ललित गाहा, गणेशकञ्चन भारती, खगेन्द्रप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

Translate »