कर्णालीमा वित्तिय साक्षरता : कारोवार गर्न सिकाउँदै एनएमवी बैंक


स्काई न्यूज/ चैत १६, सुर्खेत । देशका अन्य प्रदेशको तुलनामा कर्णालीमा वित्तीय पहुँचको अवस्था कमजोर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार देशभर १० हजार बढी वित्तिय संस्थाका शाखाहरु रहेकोमा ती मध्ये कर्णालीमा ४४ वटा मात्र शाखा छन् । कर्जा र निक्षेपमा समेत कर्णालीको अवस्था उस्तै छ । देशभर झण्डै ४८ सय ६३ अर्ब डिपोजिट परिचालन भईरहेकोमा कर्णालीमा ५३ अर्बको हाराहारीमा मात्र निक्षेप हुने गरेको छ । प्रदेशमा वित्तीय साक्षरताको अवस्था झनै दयनिय रहेको छ ।
सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नागरिकलाई जानकार छैनन् । वित्तीय साक्षरता अभिवृद्धि गर्न सरकारी पक्षबाट आवश्यक पहल नभएपनि केही नीजि क्षेत्रका वित्तिय संस्थाहरुले पहल शुरु गरेका छन् । यसैवीच एनएमवी बैंक कर्णाली प्रदेश कार्यालय मार्फत प्रदेशमा वित्तिय साक्षरता बढाउन सप्ताहव्यापी कार्यक्रम गरेको छ । बैंकले सुर्खेत र दैलेखका सात स्थानमा वित्तिय साक्षरता अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न गरेको हो ।

वित्तीय सारक्षता कार्यक्रम मार्फत एक साता भित्र ७ सय बढी नागरिकलाई वित्तिय साक्षरता बारे जानकारी दिएको एनएमवी बैंकका सुर्खेत शाखा स्थित व्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले जानकारी दिए । उनले सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, लेखबेशी, नगरपालिका एवं दैलेखको नारायण नगरपालिका, गुरास गाउँपालिका र नौमुले गाउँपालिकाका स्थानीय बासिन्दालाई बैंकले दिने सेवा सुविधाका बारेमा अभिमुखिकरण गरेको बताए । उनका अनुसार अभिमुखिकरण कार्यक्रम मार्फत वित्तिय साक्षरता कार्यक्रमका सहभगिलाई आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले व्यवस्थापन गर्ने बारेमा जानकारी गराईएको थियो ।
बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व प्रतिष्ठित अवार्डबाट एनएमवी बैंक नेपाललाई सम्मान गरिएपछि वित्तीय क्षेत्रमा ठूलो उपलब्धिका रुपमा हेरिएको जनाए । उनले बैंकको आफ्नो प्रतिष्ठालाई थप परिस्कृत गर्न प्रदेशका ३ वटा शाखाहरु मार्फत ग्रामीण क्षेत्रमा प्रभावकारी तरिकाले वित्तिय साक्षरता अभिमुखिकरण अभियान सञ्चालन गरिएको बताए ।

‘ग्रामीण अर्थतन्त्रलाई उकास्ने गरी नागरिकलाई सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तिय संस्थासँग कारोवार गर्न तथा भविष्यमा वित्तिय व्यवस्थापनमा सघाउ पु¥राउनका लागि अभियान प्रभावकारी हुने अपेक्षा राखेका छौं,’ उनले भने, ‘वित्तिय साक्षरता अभिमुखिकरण मार्फत आर्थिक संकट पूर्वनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिने, सीमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र ब्यापार व्यवसाय ब्यवस्थापन गर्न, विशेषगरी युवायुवतीलाई बचत गर्ने बानी र वित्तिय सेवा लिनुका फाईदा बारे नागरिकलाई जानकारी पुगेको विश्वास लिएका छौं ।’

उनले एटीएम मेसिन, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटीएम कार्ड) र क्रेडिट कार्ड लगायतका विषयमा समेत नागरिकलाई जानकारी गराईएको बताए । उनका अनुसार सप्ताहव्यापी वित्तिय साक्षरता कार्यक्रममा ७५ प्रतिशत ग्रामीण महिलाहरुको सहभागिता रहेको थियो ।
यता नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अझै पनि कर्णालीमा कम्तीमा २ लाख २० हजार व्यक्तिको बैंक खाता छैन् । जनगणनाको प्रारम्भिक विवरणअनुसार कर्णालीको जनसंख्या १६ लाख ९४ हजार भएपनि १४ लाख ७४ हजार मात्र बैंक खाता छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत मात्र वितरण गर्न लागेपछि यो संख्या बढेको हो । यसमा संस्थागत खाता र एउटै व्यक्तिले २/३ वटा बैंकमा खोलेको खाता पनि समावेश गरिएकाले त्यो बढी देखिन आएको छ ।

यद्यपि ! गाउँगाउँमा बैंकका शाखा कार्यालय खुले पनि सुरक्षा भत्ताका लागि मात्र ती खाताहरु प्रयोग भइरहेका छन् । सबै नागरिकको बैंक खाता नहुँदा कर्णालीमा अहिले पनि परम्परागत रुपमा कारोबार हुने गरेको छ । त्यसैले प्रदेशको आर्थिक समृद्धिका लागि अझै वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको राष्ट्र बैंक कर्णाली प्रदेशका सहायक निर्देशक पूर्णबहादुर नेपालीले बताए । उनले कर्णालीका १० जिल्लामा झन्डै साढे ५९ अर्ब रुपैयाँ बचत छ भने साढे ५५ अर्ब रुपैयाँ कर्जा लगानी भएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै १९.०५ अर्ब सुर्खेतमा र सबैभन्दा कम मुगुमा १.६३ अर्ब रुपैयाँ बचत रहेको छ ।
सुर्खेतबाट १९.५ अर्ब रुपैयाँ र सबैभन्दा कम डोल्पामा ४९ करोड रुपैयाँ मात्र लगानी भएको छ । उनले कर्णालीमा वित्तीय पहुँच सूचकका दृष्टिले सल्यान, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, हुम्ला, मुगु र डोल्पा पछि रहेको बताए । यता निक्षेप परिचालन र कर्जा प्रवाह दुवै न्यून रहेकाले लगानी बढाउन नसकिएकाले सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मन कँडेलले बताए ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्तहरुको संख्या बढी छ । कर्णाली प्रदेशमा ४ सय ४४ वटा बैंक तथा वित्तीय संस्था छन् । तर ‘क’ र ‘ख’ वर्गका बैंकहरुको संख्या न्यून छ । प्रदेशभरि १ सय ९५ वटा ‘क’ वर्गका बैंक छन् । ‘ख’ वर्गका बैंकको संख्या १९ मात्र छ । सबैभन्दा कम मुगुमा ८ बैंक छन् । सुर्खेतमा ‘क’ वर्गका बैंकको संख्या ५२ छ । कर्णालीमा ‘घ’ वर्गका बैंक तथा वित्तिय संस्था मात्रै २ सय २७ छन् ।


