

आर्थिक अभियान/ काठमाडौं । दसैं, तिहार लगायत चाडपर्वका बेला अनलाइन ठगी जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
चाडबाडमा कारोबार पनि धेरै हुने भएकाले केन्द्रीय बैंकले अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड अन्य व्यक्तिलाई नदिन आग्रह गरेको हो । बैंकिङ कारोबार विश्लेषण क्रममा अनलाइन ठगीका घटना बढेको भन्दै इकाइले चाडपर्वका अवसरमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा ठग सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।
इकाइका अनुसार दसैं धमाका, तिहार छठ बम्पर उपहार वा आकर्षक उपहार जितेको भन्दै सामाजिक सञ्जाल मार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्छ । यस्ता लिंकमार्फत ठगी गर्नेले सर्वसाधारणलाई लक्षित गर्न सक्ने भएकाले होसियार हुन इकाइले सुझाएको छ ।
त्यस्तै बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर ग्राहकलाई केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने डर देखाउँदै पासवर्ड, ओटीपी र व्यक्तिगत विवरण चोरेर बैंक तथा वित्तीय संस्थामा रहेको रकम ठगी गर्ने जोखिम पनि रहेको इकाइले जनाएको छ ।

सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट पनि सावधान रहन इकाइले सुझाएको छ ।
अरु व्यक्तिको नागरिकता, फोटो वा किर्ते कागजात प्रयोग गरी नक्कली खाता खोलेर आपराधिक गतिविधि गर्ने जोखिम समेत रहेको इकाइले औंल्याएको छ । इकाइले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन आग्रह गरेको छ । सामाजिक सञ्जालमा आउने निःशुल्क रिचार्ज, चिट्ठा परेको वा नक्कली उपहार सम्बन्धी शङ्कास्पद लिंक खोल्न नहुने सुझाव पनि दिइएको छ ।
अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न तथा सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न इकाइले आग्रह गरेको छ । डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्नुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै इकाइले अनलाइन ठगीमा परेको शङ्का लागे ढिलाइ नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट रोक्का गराउन र नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।










