करार कर्मचारीद्धारा छत्रेश्वरी गाउँपालिका वडामा तालाबन्दी
स्काई न्यूज / असोज ११,सल्यान ।
छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार कर्मचारीले गाउँपालिकाका सात वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । म्याद थप गर्नु पर्ने भन्दै करार कर्मचारीहरुले वडामा तालाबन्दी गरेका हुन । आफ्ना माग पुरा नभएसम्म वडामा तालाबन्दी जारी रहने करार कर्मचारी संघर्ष समितिका संयोजक दीलिप बोहराले बताए । उनले भने ‘गाउँपालिकाका सात वटै वडामा तालाबन्दी गरेका छौं। यदी तालाबन्दीबाट पनि समस्या समाधान नभए १३ गतेबाट गाउँपालिकाको कार्यालयमा धर्ना दिन्छौँ । वाम निकट र काँग्रेस निकट जनप्रतिनिधिको विवादले आफूहरुको रोजीरोटी गुम्न लागेकाले आन्दोलन गर्नु परेको बोहराले बताए ।
उनले भने ’हामीहरुलाई राजनीतिक एजेण्डा बनाइएको छ ।’ करारमा कार्यरत कर्मचारीहरुलाई हटाउने भनेर कार्यपालिकाबाट नै आवाज उठेपछि आफुँहरु तालाबन्दी गर्ने निर्णयसम्म पुगको उनको भनाई छ । तत्काल नियुक्ति दिइनु पर्ने, करार सम्झौता निरन्तरता हुनु पर्ने आफूँहरुको माग रहेको उनको भनाई छ । यता वाम निकटका जनप्रतिनिधिहरुले गाउँपालिकाले ताला लगाउन लगाएको आरोप लगाएको छ । वार्ताको औचित्य समाप्त गर्दै केही करार कर्मचारीलाई गाउँपालिकाले उचालेर तालाबन्दी गर्न लगाएको २ न वडा अध्यक्ष प्रेम खड्काले बताए । यस प्रकारको गतिविधिबाट आफ्ना अनियमित गतिविधको ढाकछोप गर्न अर्को हर्कत भएको खड्काको आरोप छ । विगतका कार्यपालिका वैठ्कले पारित गरेको निर्णय कार्यन्वयन हुनुपर्ने, आवश्यकता भन्दा बढी करारमा भर्ना गरिएका कर्मचारी हटाउनु पर्ने लगायतका माग गरेर बामबाट निर्वाचित जनप्रतिनिधिहरुले नीति तथा कार्यक्रम र बजेट बहिस्कार गर्दै आइरहेका छन् । जसका कारण हालसम्म गाउँपालिकाले नीति तथा कार्यक्रम पास गर्न सकेको छैन ।