असोज तेस्रो सातादेखि कर्णाली प्रदेशसभा बैठक तयारी


स्काई न्यूज / असोज १३, सुर्खेत ।
कर्णाली प्रदेशसभाको बैठक असोज तेस्रो सातासम्म सञ्चालन गर्ने तयारी भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण दुई महिनादेखि स्थगित बैठक सञ्चालनको तयारी भएको हो । चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन । प्रदेशसभाका सभामुख राजबहादुर शाहीले कोरोना भाइरस महामारीका कारण संसद अधिवेशन प्रभावित हुन पुगेको बताए । कोरोना संक्रमण जोखिमका कारण अवरुद्ध संसद असोजको तेस्रो सातासम्म सञ्चालनको तयारीमा रहेको छ । केही विधेयक विभिन्न विषयगत समितिमा विचाराधिन रहेको समेत सभामुख शाहीले बताए । विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनले बताए । सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।

Translate »