सैनिक कल्याणकारीमा ६४ अर्ब : स्वरोजगारतर्फ पूर्व सैनिकको आकर्षण

स्काई न्यूज/ चैत २०, सुर्खेत । सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब ६४ अर्ब पुगेको छ । विसं २०३२ मा एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको हो । आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित राजदल गणमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारी लाभान्वित भएको बताए । उनका अनुसार कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब छ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको छ ।

कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियत जस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ । प्रधानसेनापति शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिए ।

उनले समुदायलाई अनुशान र सभ्य बनाइराख्न अवकास प्राप्त सैनिकहरुको योगदान उच्च राख्न जरुरी रहेकाले सामूहिक भावनले अघि बढ्नु पर्नेमा जोड दिए । नेपाली जनताको आर्थिक, सामाजिक र अन्य प्रकारको विकासका लागि सामुहिक भावना आवश्यक पर्ने भएकाले यसमा अवकास प्राप्त सैनिकले पेशामा रहँदा सिकेको अनुशान सामान्य जीवनमा समेत कायम राख्न आवश्यक रहेको औल्याए ।

 

‘भूपु सैनिकहरुको आर्थिक जीविकोपार्जन उकास्ने खालका योजनाहरुलाई वृहत्तर रुपमा लागु गर्न लागिएको छ,’ उनले भने, ‘नेपालमै बसेर परिश्रम गर्न सफल भइन्छ भन्ने सन्देश दिन कल्याणकारी कोषलाई थप दिगो, मितव्ययी र पारदर्शी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रमहरु अघि सारेका छौं ।’ उनले अनुशासित भएर काम गर्न नसकेको खण्डमा असफलता व्यहोर्नुपर्ने दृष्टान्त उल्लेख गर्दै नेपाली सेनाबाट अवकाशप्राप्त भूपू सैनिक नेपाली सेनाका गहना भएकाले अवकाश पश्चात पनि समाजमा अनुशासित भएर उदाहरणीय काम गर्दै अगाडि बढ्न सुझाव दिए ।

हाल सञ्चालन भइरहेका कल्याणकारी कार्यक्रम तथा सेवा सुविधाहरुका सम्बन्धमा संक्षिप्त जानकारी गराएका शर्माले सेनाको स्रोत, साधन र क्षमताले भ्याएसम्म सेवा सुविधा भविष्यमा थप विस्तार तथा अभिवृद्धि गर्दै लगिने विश्वास उनले व्यक्त गरे ।

सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत गौरव तण्डुलले गौरवमय इतिहास र विशिष्ट परम्परा बोकेको नेपाली सेना आफैंमा एउटा मर्यादित, अनुशासित, सशक्त र उत्कृष्ट संस्था भएको बताए । उनले भने, ‘कल्याणकारी कोषको अभिवृद्धि गर्ने, नयाँ चिन्तनसहित गति ल्याउने, लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने, कार्यक्रमलाई विकेन्द्रीकरण गरी सेवालाई घरदैलोसम्म पु¥याउन हरहमेसा प्रयत्न भइरहेको छ ।’


भूपु सैनिक सम्मेलनमा ज्येष्ठ भूपूसैनिक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई व्हीलचियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा चार भन्दा बढी सन्तानलाई सेनामा पठाउने मातापितालाई सम्मान गरियो । कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग गर्न सङ्गठन कटिबद्ध रहेको जनाउँदै सहभागी अन्य वक्ताले सेवासुविधालाई विस्तारित, विकेन्द्रित एवं परिणाममुखी तुल्याउने लक्ष्य बनाइएको जानकारी दिए ।

सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रुपमा लिने गरेका छन् । यसअघि दिपायल र धनगढीमा भूपूसैनिक सम्मेलन भइसकेको छ । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपू र एकल महिलाको संख्या करिब ८५ हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा हुँदै आएको सम्मेलनका यस वर्षको नारा ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा ः सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने रहेको छ ।

सम्मेलनका अवसरमा हिताधिकारीलाई लक्षित गरी आयोजना गरिएको बृहद् स्वास्थ्यबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएको जानकारी दिइयो । सम्मेलनमा नारायण नगरपालिका–७ का जेष्ठ भूतपूर्व सैनिक, ८२ वर्षीय हर्कबहादुर ठकुरी, अवकास प्राप्त स्वर्गीय जमदार जयकृष्ण उपाध्यायका श्रीमती चन्दननाथ नगरपलिका–१० का ८२ वर्षीय जेष्ठ एकल महिला लक्ष्मी कन्या उपाध्यायलाई सम्मान गरिएको थियो । सम्मेलनमा चार वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने पाँच जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त १४ जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग प्रदान गरिएको थियो ।

साथै लघुबित्त कार्यक्रम एवं महिला उद्यमशिलता कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई चेक हस्तान्तरण गरिएको थियो । सम्मेलनमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपास, राष्ट्रिय सेवादलका क्याडेटहरुद्वारा नृत्य प्रदर्शन, नेपाली सेनाद्वारा स्थान विशेषको झाँकी, संस्कृति झल्किने नाँच, खुकुरी ड्रिल, तेक्वान्दो पीटी, मार्चपास्ट र सैनिक व्याण्डको प्रस्तुती समेत प्रदर्शन गरिएको थियो ।

सम्मेलनको पूर्व सन्ध्यामा निमारे ब्यारेक, सुर्खेतस्थित श्री नं.४ फि.ए. गुल्ममा विशेषज्ञसहितको स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो । सम्मेलनमा सर्वोत्कृष्ट उद्यमी व्यवसायी र सेनामा सेवा गर्न अभिप्रेरित गर्नेहरुलाई सम्मान गरिएको थियो । सम्मेलनमा प्रदेशका ८ जिल्लाबाट दुई हजार बढी भूपु सैनिकहरुको सहभागिता थियो ।

 

Translate »