२०८३ मंसिर ३ , बुधबार
Sky News Nepal
November 18, 2026

वीरेन्द्रनगरमा ‘शान्ति परियोजना’ कार्यक्रम लागु

सन २०२२ देखि २०२४ दिसेम्बरसम्म एकल महिला, द्वन्द्वपीडित प्रभावित महिला र सीमान्तकृत महिलाको सशक्तिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।


स्काई न्यूज /चैत २१, सुर्खेत ।  एकल महिला, द्वन्द्वपीडित प्रभावित महिला र सीमान्तकृत महिलालाई सशक्तिकरण गर्नका लागि सुर्खेतको वीरेन्द्रनगरमा शान्ति परियोजना सञ्चालनमा आएको छ । मानव अधिकारका लागि एकल महिला समूहको नेतृत्वमा जर्मनको कुर्वे वुष्ट्रोको आर्थिक सहयोगमा सन २०२२ देखि २०२४ दिसेम्बरसम्म वीरेन्द्रनगरका १६ वटै वडाहरुमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

समूहले गत विहीबार वीरेन्द्रनगरमा शान्ति परियोजनाको परिचयात्मक गोष्ठीको आयोजना गरि एकल महिला अधिकारको सुनिश्चितता, द्वन्द्व पीडितलाई न्यायको पहुँच तथा सीमान्तकृत महिलालाई आर्थिकरुपले आत्मनिर्भर बनाउँदै महिला सशक्तिकरण गर्न आवश्यक रहेको औल्याएको छ । कार्यक्रमको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले महिला सशक्तिकरणका लागि आर्थिकरुपले सबल हुन महिलाको सक्रियता नै पहिलो शर्त भएको बताए । उनले अधिकार भन्ने कुरा कसैले दिने भन्दापनि लिने चीज भएकाले महिलाका लागि सरकारले उपलब्ध गराएका हरेको अवसरको लाभ उठाउन आग्रह गरे ।

‘अहिले स्थानीय तह, प्रदेश तथा संघीय सरकारले एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाका लागि आफ्नै र विदेशी दातृनिकायको सहयोगमा विभिन्न शिर्षकका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ,’ उनले भने, ‘सूचनाको पहुँच बढाउँदै लाभकारी शिर्षकका कार्यक्रमको प्रकृति बुझेर आफ्नो आवश्यकता अनुरुपको कार्यक्रम लिन सम्बन्धित पक्षले चाँसो र सम्पर्क बढाउनु पर्छ ।’

उनले वीरेन्द्रनगर नगरपालिकासँग यूएनडीपीले समेत एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाको उत्थानका लागि काम गर्न ईच्छुक रहेकाले समयमै आवश्यक कागजातसहित सम्पर्कमा रहन सुझाव दिए । उनका अनुसार महिला अधिकार मागेर मात्र होइन, आवश्यक परे लडेर भएपनि लिनु पर्छ ।

कार्यक्रमका अधिकांस सहभागिहरुले समाजमा एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाहरुले अहिले पनि विभिन्न प्रकार समस्याहरु भोक्दै आईरहेको बताए । उनीहरु संघीयता पछि एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाका समस्याहरु राज्यले सम्बोधन गर्ने प्रयास गरेपनि पार्यप्त हुन नसकेको औल्याए । महिला सशक्तिकराणका लागि राज्यले प्रभावकारी अर्थपूर्ण कार्यक्रम प्याकेजमै ल्याएर एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाका समस्या सदाका लागि अन्त्य गरिनु पर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहका निर्देशक डिला आचार्यले वीरेन्द्रनगरका १६ वटै वडामा शान्ति परियोजना सञ्चालन गर्न करिब साढे ३६ लाख रुपैयाँ रहेको बताईन् । उनले तीन वर्षसम्म उक्त रकमबाट एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलालाई संगठित गर्दै हक, हित र अधिकार प्राप्तिका लागि सशक्त बनाउने, द्वन्द्व प्रभावित महिलाको न्यायमा पहुँच पु¥याउने, महिलाको परिपुरिनका लागि राज्यसँग सकारात्मक वकालत गर्ने, आर्थिक सशक्तिकरण गर्दै आत्मनिर्भर बनाएर राज्यका हरेक अंगहरुमा महिला सहभागितालाई सक्षम बनाउने उद्देश्य रहेको जानकारी दिईन् ।

उनका अनुसार रकम कम भएपनि एकल महिला, द्वन्द्व प्रभावित महिला र सीमान्तकृत महिलाका लागि विभिन्न संघसंस्था तथा सरकारी निकायसँग समन्य तथा सहकार्य गरेर अघि बढिनेछ । कार्यक्रममा केही सहभागिहरुले परियोजना सञ्चालनका लागि रकम अत्यन्त न्यून रहेकाले अन्य सामान उद्देश्य बोकेका संघ संस्थाहरु समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न संघसंस्था प्रमुख तथा प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ चैत २१ गते सोमबार
Translate »