चुनावी सरगर्मी बढेपछि सडक निर्माण पनि तीव्र

चैत २३, बाँके । चुनावी सरगर्मी बढेसँगै बाँकेमा सडक निर्माणको कामले पनि तिव्रता पाएको छ । २०७३मा चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल सकिनै  लागेको र आगामी चुनाव पनि नजिक हुँदै गएपछि बाँकेका विभिन्न स्थानीय तहमा विकास निर्माणका कामले पनि तिव्रता पाएको हो ।

पहिलो कार्यकालको समय सकिनै लागेपछि जनप्रतिनिधिहरुले सडक निर्माण धमाधम गर्न थालेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सडक निर्माणसँगै अन्य विकासका योजनाको काम धमाधम अघि बढ्ना थालेको छ ।

वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट विनियोजित ९० लाख रुपैयाँ बजेट बराबरका ७ ओटा पिसिसी सडकको काम अघि बढाएका छन् ।

उक्त बजेट प्रदेश सरकारबाट विभिन्न सडकका लागि चालु आर्थिक वर्ष २०७८÷०७९मा विनियोजन गरिएको थियो ।


सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई सडक निर्माणको काम अघि बढाइएको छ । उक्त बजेटबाट शरू गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले बताए ।

उनले आफ्नो कार्यकाल सकिनै लाग्दा वडाभित्र एकैसाथ सात सडक निर्माण शुरू गरेका छन् । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले ३० लाख रुपैयाँ लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गरिरहेको बताए ।

उनले भगवती टोलमा २, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा १÷१ सडक निर्माणको काम अघि बढाएका छन् ।
उनले सो बाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको पनि बताए ।

गरिब, विपन्न र दलित परिवारका लागि ६५ ओटा पानीका धारा जडान गरेको समेत उनको भनाइ छ । वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएकोसमेत बताए ।

उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले २ लाख ५० हजार रुपैयाँदेखि ३ लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए । सडकमा पिसिसी र ग्राभलिङको काम भइरहेको उनको भनाइ छ ।

वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले संघीउ सरकारको बजेटमार्फत सडक पूर्वाधार निर्माणको काम भइरहेको बताए । उनले २३ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको बताए । रासस

Translate »