

चैत्र २३, बाँके । नेपालगन्ज रंगशालाको स्तरोन्नती हुने भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएयता अलपत्र अवस्थामा रहेको नेपालगन्ज रंगशालामा सेन्थेटिक ट्रयाक निर्माणको ढोका खुलेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयले सेन्थेटिक ट्रयाक निर्माणकालागि बजेटको स्रोत सुनिश्चित गरेसँगै रंगशालाको स्तरोन्नती हुने भएको हो । चालु आर्थिक वर्षभित्रै सेन्थेटिक ट्रयाक निर्माणको ठेक्का खोल्न मिल्ने गरी अर्थ मन्त्रालयले १३ करोड ८५ लाख बजेटको स्रोत शुनिश्चित गरेको हो ।
आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण थालिएको रंगशाला समय अभावको कारण देखाउँदै अधुरै छाडिएको थियो । रनिङ ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण, फ्लड लाईट जडान लगाएतका महत्वपूर्ण काम बाँकी रहेको उक्त रंगशाला अहिले पनि अपुरो अवस्थामा रहेको छ । बजेटको स्रोत सुनिश्चित भएसँगै नेपालगन्ज रंगशाला स्तरोन्नतीको प्रक्रिया सुरु भएको छ ।


