सुर्खेतका भूमिहिनलाई लालपुर्जा वितरण शुरु


स्काई न्यूज /चैत २५, सुर्खेत । सरकारले सुर्खेतका भूमिहिन दलित परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण कार्य शुरु गरेको छ । भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले शुक्रबार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट लालपुर्जा वितरण कार्य शुरु गरेको हो ।
राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौंलाले गुर्भाकोट नगरपालिकाका १२ महिला, १८ पुरुष र ४ सरकारी स्वामित्व गरी कुल ३४ थान पुर्जा वितरण गरेका छन् । राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले गुर्भाकोटको कुल १ लाख ११ हजार ४ सय ६५ वर्गमिटर जग्गाको ६३ कित्ता वितरण गरिएको बताए । उनले ती कित्ता वितरणबाट सरकारलाई ४ लाख ६० हजार ३ सय ९२ रुपैयाँ राजश्व प्राप्त भएको जानकारी दिए ।


‘हामीले शुक्रबार नै पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाका ३३ महिला, ६९ पुरुषलाई १ सय २ थान पुर्जा वितरण गरेका छौं,’ उनले भने, ‘भेरीगंगाको ६ लाख १० हजार ५ सय ९८ क्षेत्रफलमा २ सय ३० कित्ता जग्गा भूमिहिनलाई वितरण गरेका हौं ।’ उनले पहिलो चरणमा साविक कोटमाग खर्क अन्तर्गत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहिनलाई जग्गा वितरण गरिएको जनाए ।
सरकारले गत बैशाखमा राष्ट्रिय भूमि आयोग गठन गरेसँगै जिल्लाका सबै पालिकाका भूमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई क्रमश पुर्जा वितरण गरिने उनको भनाई छ । वर्षौंपछि लालपुर्जा पाउँदा भूमिहिन दलित परिवार खुसी देखिएका छन् । पुर्जा पाएसँगै उनीहरुले लामो समयदेखि पुर्जा प्राप्तिको लडाई सकिएको भन्दै एकआपसमा खुशी साटासाट गरेका थिए ।


