‘विद्युतीय दुर्घटना न्यूनिकरणमा जुट्न आग्रह’


स्काई न्यूज /चैत २६, सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाले विद्युतीय दुर्घटनाबाट जोगिन र सचेतना फैलाउन विविध कार्यक्रम गरि ‘विद्युत सुरक्षा दिवस’ मनाएको छ । प्राधिकरणले शनिबार सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा दिवसको अवसर पारेर ‘विद्युतीय दुर्घटनाबाट बचौं र बचाऔं’ भन्ने नारासहित प्रभातफेरी निकालेर विद्युतीय दुर्घटना न्यूनिकरणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको हो ।

सेवाको सहज पहुँच विस्तार, गुणस्तरिय सामानको प्रयोग, किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यलाई उपभोक्तामाँझ सचेतना र जागरुकता ल्याउँदै विद्युतीय दुर्घटनामा कमी ल्याउनु दिवसको मुख्य उद्देश्य रहेको प्राधिकरण सुर्खेत शाखा प्रमुख ईन्जिनियर युवराज रावतले बताए ।


उनले जीर्ण पोल, तार, पुराना हाउस वायरिङ एवं गुणस्तरहिन सामाग्रीको प्रयोगले विद्युतीय दुर्घटना हुँदा मानिसको अकालमै मृत्यु हुने, घाइते हुने क्रम बढिरहेकाले त्यसबाट जोगिन गुणस्तरीय उपकरण मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरे । दिवसकै अवसर पारेर विद्युत कार्यालय परिसरमा विद्युत वितरण प्रणालीमा कार्यरत जनशक्तिलाई विद्युतीय सुरक्षाको महत्व, सुरक्षात्मक उपकरणको प्रयोग, विद्युत माग र आपूर्ति पक्षको व्यवस्थापन गर्नेलगायतको बारेमा जानकारी गराईएको थियो ।

विद्युत सुरक्षा दिवस प्रभातफेरीमै सीमित नराखेर प्राधिकरणले विद्युतीय दुर्घटनाबाट जोगिन व्यापक जनचेता फैलाउन आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चले आग्रह गरेको छ । मञ्चका सुर्खेत प्रतिनिधि कुमारी भुसालले विद्युतीय दुर्घटनाबाट जोगिन र सचेत रहन व्यवहारिकरुपमै अहिलेसम्म उपभोक्तालाई विद्युत प्राधिकरणले सचेतना फैलाउन नसकेको दुःखेसो पोखिन् ।

उनले विद्युत वितरणमा एकाअधिकार कायम राखेको प्राधिकरणले उपभोक्ताबाट लाखौं रुपैयाँ असुल गरेपनि सचेतना तर्फ कुनै लगानी नगर्दा अज्ञानताबस वर्षेनी धेरै मानिसको अकालमै ज्यान जाने गरेको बताईन् । यता हरेक वर्ष विद्युत सुरक्षा दिवस मनाउँदै आएको प्राधिकरणले आफ्नै प्राविधिक कर्मचारीको सुरक्षामा समेत ध्यान पु¥याउन नसकेको कर्मचारीबाटै गुनासो आउने गरेको छ । सरदर वर्षभरी दुई सय बढी मानिसको विद्युतीय दुर्घटनामा परी मृत्यु हुने गरेको अनुमान छ । कतिपय विद्युतीय घटनाहरु रेडर्कमा नआउने भएकाले यो संख्या अझै ठूलो हुनसक्ने बताईएको छ ।


