मूल्य नियन्त्रण गर्न सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै खाद्य कम्पनी

स्काई न्यूज /चैत २९, सुर्खेत ।  दुर्गममा खाद्यान्न अभाव हुन नदिन सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागिएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पहिलो चरणमा खाद्यान्न अभाव हुने कर्णालीका दुर्गमका जिल्लाका नागरिकलाई लक्षित गरी सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।

कम्पनीले सोमबार (आज) सुर्खेतको वीरेन्द्रनगरमा सहकारी मार्फत सुपथ मूल्य पसल सञ्चालन सम्बन्धी अभिमुखिकरण तथा परामर्श कार्यक्रमको आयोजना गरि चाडै दुर्गमा सहकारी मार्फत सहुलिय मूल्यको खाद्यान्न उपलब्ध गराउने गृह कार्य चलिरहेको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले बढ्दो मूल्यलाई नियन्त्रण गर्नुका साथै विपन्न शहरी एवं दुर्गमका नागरिकलाई लक्षित गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा बाह्रै महिना सहजरुपमा खाद्यान्न उपलब्ध गराउन कम्पनीले सहकारी मार्फत सहुलियत मूल्य सपल सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

उनले दुर्गममा सुपथ मूल्य पसल सञ्चालनका लागि ढुवानीको मुख्य समस्या रहेकाले तीनै तहका सरकारसँग सहकार्य गर्दै हेलिकोप्टर, हवाईजहाज, घोडा खच्चड र पैदल बाटो प्रयोग गरी नागरिकसम्म सहजै खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन कम्पनी जुटेको बताए । कार्यक्रममा कम्पनीका नायब प्रबन्धक मणिराज खनाल, विक्री वितरण विभागीय प्रमुख भिमबहादुर थापा तथा सम्पत्ती व्यवस्थापन विभाग प्रमुख माधवप्रसाद अर्यालले देशैभरी सहजरुपमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन सहकारी मार्फत सहुलियत मूल्य पसल सञ्चालनका लागि अहिले सम्बन्धित क्षेत्रका सहकारीहरुसँग अभिमुखिकरण तथा परामर्श गर्ने कार्य भईरहेको जनाए ।

 

उनीहरुका अनुसार दिनप्रतिदिन बढ्दो खाद्यान्नको मूल्य नियन्त्रण गर्न छिटोभन्दा छिटो सहुलियत मूल्य पसल सञ्चालनार्थ आवश्यक ऐन, नियम बनाएर स्वीकृतिका लागि सरकार समक्ष पुगेको छ ।

 

सरकारबाट स्वीकृति मिल्ने वित्तिकै सहकारी मार्फत सहुलियत मूल्य पसल सञ्चालनमा आउने उनीहरुको भनाइ थियो । यता कार्यक्रमका सहभागि सहकारी संघसंस्थाका प्रतिनिधिहरुले सहुलियत मूल्य पसल सञ्चालन गरे वापत पाउने हाल कायम ६/७ प्रतिशतको अनुदानलाई बढाउनु पर्ने, ढुवानी खर्च उपलब्ध गराउनु पर्ने, सके ढुवानीको जिम्मा समेत सहकारीलाई नै दिनु पर्ने, सहुलियत मूल्य पसलको प्रचार प्रसार गर्नुपर्ने, सपथ मूल्य पसल शहरमा भन्दा ग्रामीण क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्ने, सहुलियत मूल्य पसल सहकारीलाई आयातमुखि भन्दा उत्पादनतर्फ समेत जोड्न कम्पनीलाई आग्रह गरेका थिए ।

Translate »