सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन : संयुक्त व्यवसायी प्यानलको पल्टा भारी
स्काई न्यूज बैशाख २, सुर्खेत । सुर्खेतमा गर्मीको तापक्रम बढेसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । बैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायीहरु आ–आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न गर्मीलाई उछन्दै कडा मेहनत गरिरहेका छन् ।
अर्को तर्फ स्थानीय तहको निर्वाचन तयारीका लागि आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन सरकारी अधिकारीहरु पनि दिनरात खटिरहेका छन् । यता सुर्खेत उद्योग वाणिज्य संघका मतदाताले भने शुक्रबार प्रचार–प्रसारक्रममा लक्ष्मण कँडेल नेतृत्वको संयुक्त व्यवसायिक प्यानलाई जिताउन स्वतन्त्र व्यवसायी भगत बडुवालले आग्रह गरे । साना तथा ठूला व्यवसायिलाई समेटेर लैजाने क्षमता लक्ष्मण कँडेल नेतृत्वको संयुक्त व्यवसायी प्यानमा रहेको उनको दावी छ । उनका अनुसार साना तथा मझौला उद्योगी व्यवसायीले लक्ष्मण कँडेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलाई जिताएर आफ्नो हक, हित र अधिकार निश्चित गरिनु पर्छ ।
सुउवा संघको चुनावी मैदानमा उत्रिएको संयुक्त व्यवसायी प्यानलका उम्मेदवारहरु अहिले भोट माग्दै विभिन्न समूहमा जिल्लाका बजारहरु परिक्रमा गरिरहेका छन् । घरदैलो चुनावी अभियानअन्तर्गत शुक्रबार संयुक्त व्यवसायी प्यानलका उम्मेदवारहरुले वीरेन्द्रनगर बजारका सबै पसलहरुमा पुगेर भोट मागेका हुन् ।
संयुक्त व्यवसायी प्यानलको नेतृत्व गरेका संघको अध्यक्षका उम्मेदवार लक्ष्मण कँडेलसँगै अर्का साझा लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरेका हर्षविक्रम खड्काले दुई वटा छुट्टछुट्टै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । यद्यपि साझा लोकतान्त्रिक गठबन्धन भन्दा संयुक्त व्यवसायी प्यानलको पल्ला भारी रहेको उनले बताए । साना तथा मझौला व्यवसायीहरुले समेत संयुक्त व्यवसायी प्यानलको नेतृत्व गरेका संघको अध्यक्षका उम्मेदवार लक्ष्मण कँडेललाई आफ्नो अमूल्य मत दिन आव्हान गरेका छन् ।
साना तथा मझौला व्यवसायी सदस्य क्षत्रबहादुर खत्रीले संघलाई अझै गतिशिल, प्रभावशाली र समुन्नत बनाउँदै व्यवसायीहरुको साझा हक, हित र अधिकार प्राप्तिका लागि लक्ष्मण कँडेल नेतृत्वको व्यवसायी प्यानललाई आफ्नो अमूल्य मत दिएर ऐतिहासिक जित सुनिश्चित गर्न आग्रह गरे ।
‘सबैको साझा संघलाई राजनीतिक अखडा बनाएर केही निश्चित समूहको रजाई गर्ने थलो बनाउने परम्परा अब सदाका लागि अन्त्य गरिनु पर्छ,’ उनले भने, ‘अब संघलाई गतिशील, प्रभावशाली र समुन्नत बनाउँदै सबै साना, ठूला व्यवसायीहरुको अपनत्व हुने गरि साझा संस्थाका रुपमा विकास गर्न लक्ष्मण कँडेल नेतृत्वको संयुक्त व्यवसायी प्यानललाई आफ्नो मत दिएर जिताउन जरुरी हुन्छ ।’
उनले संघको नयाँ नेतृत्व चयनको लागि यही वैशाख ४ गते हुने निर्वाचनमा कँडेल नेतृत्वको प्यानलाई भारी मत दिएर विजयी गराउन आग्रह गरे । संघले सुर्खेतको आर्थिक, सामाजिक र औद्योगिक विकासमा खेलेको भूमिकालाई निरन्तरता दिन लक्ष्मण कँडेल नेतृत्वको संयुक्त व्यवसायी प्यानलाई जिताउनु पर्नेमा धेरै व्यवसायीहरुले जोड दिएका छन् ।
अहिलेको निर्वाचनमा कँडेल नेतृत्वका संयुक्त व्यवसायी प्यानलप्रति स्वतन्त्र मतदाताको समेत रुझान बढ्दै गईरहेको पाईएको महासचिव पदका उम्मेदरवार भद्र भण्डारीले दावी गरे । संयुक्त व्यवसायी प्यानलका उम्मेदवारहरु भोट माग्दै अहिले चुनावी रणनीति अन्तर्गत मतदाताको घरदैलोमै पुगेर भोट माग्नमै व्यस्त रहेका छन् ।