सरकार नसच्चिए कांग्रेसले सडकबाटै आन्दोलनको आँधीबेरी ल्याउने ः नेता देउवा

स्काई न्यूज
भदौं ६, सुर्खेत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको अधिनायकवादले राष्ट्र अप्ठेरो अवस्थामा पुगेको बताएका छन् । नेपाली काँग्रेसले आयोजना गरेको कर्णाली प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई शुक्रबार वीरेन्द्रनगरमा बोल्दै सभापति देउवाले वर्तमान सरकारले शान्ति, सुरक्षा र सुशासन दिनुको सट्टा हत्या, हिंसा, आतंक, भ्रष्टाचार र महँगी बढाएर राष्ट्रलाई अप्ठेरोमा पारेको जनाए । उनले कम्युनिष्ट सरकार नसच्चिए जटिल अवस्थामा पुग्न लागेको मुलुकको रक्षाका लागि कांग्रेसले सडकबाटै आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए ।

सभापति देउवाले कम्युनिष्टहरु एकहुँदै गइरहेका बेला कांग्रेस दुई पार्टी जस्तो भएकाले एक बनाउन आफू लागि परेको जिकिर गरे । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालले महाधिवेशन गुट–उपगुट भएपनि अबदेखी पार्टी एकढिक्का बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए । उनले मुलुक र संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएकोले पार्टी भित्रको तिक्तता अन्त्य गर्दै एक ढिक्का भएर अघि बढ्ने उद्घोष गरे ।

त्यस्तै समापन कार्यक्रममा नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले पार्टीभित्रको अन्र्तद्वन्द्व अन्त्य गर्दै एक ढिक्का बनाउने अभियानमा जुट्न आवश्यक रहेकोे औलाए । दुई दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा कर्णालीका दश जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »