कर्णालीका मुख्यमन्त्री शाही भेटघाटमै व्यस्त

औपचारिक कार्यक्रममा समय खेर फाल्दै

असोज ४, सुर्खेत ।

मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना कर्णाली प्रदेशको जग बसाउने मुख्य अभिभारा मुख्यमन्त्रीलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ । तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्री महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेको पाइएको  छ । अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन बनिसकेका छैनन्, बनेका कतिपय कानुन पनि सरकारले नियमावली र कार्यविधि नबनाउँदा कार्यान्वयन हुन सकेका छैनन् । बजेट कार्यान्वयनको अवस्था पनि कमजोर छ । केन्द्र सरकारले अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गरिरहेको प्रदेश सरकारले गुनासो गरिरहेका छ, तर प्राप्त अधिकार उपयोगमा पनि ऊ चुकिरहेको प्रस्टै देखिन्छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रायः औपचारिक कार्यक्रममै हुन्छन् । उनको पछिल्लो एक साता प्रदेश समृद्धिका योजनामा आधारित भेटघाट र छलफलमा बित्यो । भदौ २० गते काठमाडौं गएका मुख्यमन्त्री शाही एक साता बसे । त्यहाँ चिनियाँ दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भए । सम्मेलनमा उनले कर्णाली सरकारले लगानीको सुरक्षा गर्ने विश्वास दिलाउँदै स्रोत परिचालनका लागि आग्रह गरे । काठमाडौंमै रहेका बेला नेपाल उद्योग परिसंघद्वारा आयोजित पूर्वाधार सम्मेलनमा सहभागी भए । उनले कर्णालीमा लगानीका लागि सबैखाले कानुनी जटिलता हटाउने विश्वास दिलाए । ‘यही बीचमा मुख्यमन्त्रीले निजामती सेवाको नीतिगत तहमा कार्यरत कर्णाली घर रहेका कर्मचारीसँग प्रदेशको विकासबारे छलफल गर्नुभयो,’ मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले भने, ‘हरेक भेटघाट कुनै न कुनै रूपमा अर्थपूर्ण हुने गर्छन् ।’

काठमाडौं बसाइका क्रममा उनले कर्णाली निवासी पत्रकारसँग पनि भेटघाट गरे । उनले सुर्खेत विमानस्थल विस्तार र प्रादेशिक विमानस्थल निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र त्यहाँ रहेका इन्जिनियरसँग पनि भेटघाट गरे । गत शुक्रबार प्रदेशमा फर्किएपछि बिहानैदेखि निवासमा हुने भेटघाटदेखि कार्यालयको काम र सार्वजनिक कार्यक्रममा व्यस्त रहे । काठमाडौंबाट सुर्खेत फर्किएकै दिन मुख्यमन्त्री शाही कर्णाली प्रदेश अस्पतालको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सहभागी भए । त्यसै दिन ‘युद्धपत्रकार’ तथा प्रगतिशील साहित्यकार देवकी तिमिल्सिना ‘समीक्षा’ को ‘योद्धाको सपना’ नामक कवितासंग्रह विमोचनमा सहभागी भए । त्यसपछि भौतिक फूर्वाधार विकास मन्त्रालय र मातहतका दसवटै जिल्ला कार्यालयको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजना तयारीसम्बन्धी अन्तर्त्रियामा सहभागी भए ।

त्यसपछिका दुई दिन मुख्यमन्त्री कार्यालयका कर्मचारीसँग बैठक र अन्य राजनीतिक भेटघाटमा बिताए । सोमबार मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको सडक, खानेपानी र विद्युत्को समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, निर्माणकर्ता तथा अन्य सरोकारवालासँग छलफल गरे । मंगलबार प्रदेशसभाको बैठकमा सहभागी भए । बैठकमा भनाइ भने राखेनन् ।

बुधबार उनले प्रदेश सरकारको ‘विपद् जोखिमविरुद्ध सम्पूर्ण कर्णालीवासीका सामूहिक दुर्घटना बिमा कार्यक्रम’ शुभारम्भ गरे । बिहीबार संविधान दिवस मूल समारोह समितिद्वारा आयोजित जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण फुटबलमा सहभागी थिए । शुक्रबार संविधान दिवसका अवसरमा आयोजित र्‍याली र समारोहमा उपस्थित भए । (कान्तिपुर)

Translate »