लाटिकोइलीमा पीपलपानी अर्पणस्थल सञ्चालन
पार्वती बयक /कार्तिक ३०, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय स्थल लाटिकोइलीमा पीपलपानी अर्पण स्थल सञ्चालनमा आएको छ । शनिबार लाटिकोइलीमा पीपलपानी अर्पणस्थलको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिका–९, का वडा अध्यक्ष सुरेश मानन्धरले अब मृत्यु संस्कारको ११ औं दिनमा गरिने पीपलपानी अर्पण गर्न वडाबासीलाई बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको बताए ।
उनले लाटिकोइलीको शिव मन्दिर पछाडी खोर्के खोला र गोरे खाकल खोलाको दोभानमा पीपलपानी अर्पण स्थल निर्माण भएको जनाए । उनका अनुसार सुर्खेत उपत्यका नगर विकास समितिको करिब २ लाख रुपैयाँको लगानीमा उक्त पीपलपानी अर्पण स्थल निर्माण गरिएको हो । कार्यक्रममा सुर्खेत उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष नारायण कोइराला, पीपलपानी अर्पण स्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दलबहादुर खत्रीलगायतले आफ्ना भनाई राखेका थिए ।