सुर्खेतमा मेडिकल कलेज स्थापना हुन्छ : राज्यमन्त्री रावत

पार्वती बयक /मंसिर ७, सुर्खेत ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सुर्खेतमा मेडिकल कलेज स्थापना हुनेमा शंका नगर्न आग्रह गरेका छन् । भर्खरै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएपछि शनिबार गृहजिल्ला सुर्खेत आएका रावतले कर्णाली प्रदेश अस्पतालको क्षमता विकास गरि मेडिकल कलेजका लागि छिट्टै आवश्यक प्रक्रिया शुरु गरिने जानकारी दिए । सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै राज्यमन्त्री रावतले सातवटै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने संघीय सरकारको नीति अनुसार सुर्खेतमा मेडिकल कलेज खोल्न लागिएको स्पष्ट पारे ।

‘कर्णाली प्रदेशको स्वास्थ्य समस्या हल गर्न पहिलो प्राथमिकतामा राखिएको छ, प्रदेशको स्वास्थ्य क्षेत्रका समस्यामा सुधार गर्न आफू व्यक्तिगतरुपमा पनि प्रयासरत रहने छु,’ उनले भने, ‘हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयको पदभार गर्दाको पहिलो निर्णय नै कर्णालीमा शल्यचिकित्सक पठाउने भएको छ ।’ उनले अहिले पनि प्रदेशका कतिपय ठाउँमा सिटामोल नपाउने अवस्था अहिले पनि भएकाले अब त्यस्तो अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार आफ्नो मन्त्रालयले सिटामोल नपाउने अवस्थाको अन्त्य गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको छ ।उनले स्वास्थ्य संस्थामा हुने गरेको औषधिको अभावलाई कम गर्नका लागि तीन वटै तहका सरकारले अनुगमन गर्नुपर्ने बताए । अहिले कर्णालीमा हरेक क्षेत्रमा जनशक्तिको अभाव रहेको भन्दै रावतले स्वास्थ्य क्षेत्रमा अभाव रहेको जनशक्तिलाई पूर्ति गर्न आफूले पहल गर्ने जनाए । ‘कर्णाली प्रदेश अस्पतालको व्यवस्थापन पक्षमा सुधार गर्ने योजना रहेको छ,’ उनले भने, ‘जनताका दुःख पहिले जस्तो नहुने वातावरण तयार गर्न आफ्नो निरन्तर प्रयास रहनेछ ।’ उनले साविकका कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सुत्केरीलाई हेलिकप्टरबाट उद्दार (रिश्क्यू) गरि सुर्खेतमा उपचार गर्ने चलनलाई अन्त्य गरि दक्षजनशक्ति उत्पादन गरेर प्रदेशका हरेक नागरिकलाई न्यूनतम् स्वास्थ्य सेवाको पहुँच पु¥याउन सरकार प्रतिवद्ध रहेको समेत जिकिर गरे । रावतलाई स्वागत गर्न सुर्खेत विमानस्थलमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

 

Translate »