दर्शकको चासो अर्गानिक उत्पादनमा

प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा बढ्दो भीड

डिलबहादुर खत्री/ शान्ति सुनार
सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा आउने अधिकांश दर्शकले अर्गानिक कृषि उत्पादनका सामाग्रीहरु रुचाएका छन । शहरमा बस्नेहरुले पछिल्लो समय ग्रामीण भेगमा विशुद्ध गाइभैसीको मलमा उत्पादन गरिएका कृषि जन्य सामाग्री उपभोग गर्ने क्रम बढिरहँदा यहाँ महोत्सवमा राखिएका अर्गानिक कृषिजन्य उत्पादनप्रति दर्शकले बढी रुचाएका हुन । महोत्सवमा राखिएका अर्गानिक नास्ता तथा खानासँगै काउली, बन्दा, ब्रो काउली, सिमी, हिउदे सिमी, आलु, अदुवा, सुन्तला लगायतका कृषिजन्य उपज किन्नमा महोत्सवमा आउनेको भीड लागेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले बताए ।

उनले सुर्खेत महोत्सव मनोरन्जन मात्र नभइ स्थानीय उत्पादनहरुको प्रवद्र्धनका लागि समेत भएकाले आफुहरुले कृषिजन्य वस्तुको विक्री वितरण बृद्धिका लागि मेला आयोजना गरिएको स्पष्ट पारे । ‘मेलामा शनिबार झण्डै ७ लाखको टिकट मात्र विक्री भएको थियो, आइतबार पनि दर्शकको उत्साह बढेकै छ,’ उनले भने, ‘लघु, घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा मूलप्रवाहिकरण, उत्पादनको बजार प्रबद्र्धनका साथै नविनतम् प्रविधिको विकास गर्ने छौं ।’ उनले महोत्सवमा उद्यमीको सीप, प्रविधि तथा उद्यमशीलताको कदर गरेर प्रदेश स्तरमा सम्मान एवं पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको बताए । उनका अनुसार प्रदर्शनीमा करिब ३ सय लघु घरेलु तथा साना उद्योगका साथै अन्य व्यावसायीका उत्पादनको स्टल राखिएका छन् ।


उनले महोत्सवमा देशी विदेशी आधुनिक वस्तुसँगै कृषिजन्य तरुल , बन तरुल र सखरखण्ड समेत बिक्रीका लागी राखिएको जनाए । ‘स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसर सृजनागरी आर्थिक समृद्धि हासिल गर्न टेवा पु¥याउनृे महोत्सवको उद्देश्य हो,’ उनले भने, ‘लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता–विक्रेता बीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग पुग्छ ।’ उनले महोत्सवमा आउने दर्शकलाई अर्गानिक कृषि संगै गाउँले स्वादमा अर्गानिक खाना तथा नास्ता चखाउने गरिएकाले पनि दर्शकको मन तान्न सफल भएको दावी गरे । महोत्सवको तेस्रो दिन नेपाली चलचित्रका महानायक राजेश हमालको प्रस्तुतीसँगै राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुतीको दर्शकले आन्नद लिएका थिए । महोत्सवमा लोपन्मुख राउटेद्वारा बनाईएका काठका भाडाकुँडाले पनि दर्शकको मन जित्न सफल भएको थियो ।


दर्शकको आकर्षण बढ्दै
प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवको तेस्रो दिन दर्शकको भीड बढेको छ । ‘आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगीकरणमा सबै जुटौं’ भन्ने नाराका साथ शुक्रबारदेखि शुरु भएको महोत्सवमा आइतबार पनि विशेष भीड लागेको आयोजकले बताएका छन् । हालसम्म १ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले बताए । महोत्सव अवलोकनका लागि कर्णालीका दश वटै जिल्लाका गाउँगाउँबाट अवलोकनकर्ता वीरेन्द्रनगर आइपुगेको उनको भनाइ छ । ‘महोत्सवमा दैनिक उपभोग्य सामग्रीको विक्री वितरण राम्रो भएको छ,’ उनले भने, ‘दशर्कले दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न र लत्ताकपडा बढी मात्रामा खरीद गरिरहेका छन् ।’ दर्शकको चापका कारण महोत्सवस्थलमा बस्ने ठाउँको अभाव भएको थियो । महोत्सवमा औद्योगिक, प्रबिधि तथा कर्णालीका १० जिल्लाका साना तथा घरेलु उद्यमीले तयार गरेका सामग्रीको प्रदर्शनी, कृषि प्रदर्शनीका साथै विभिन्न व्यापारिक प्रतिष्ठानका उत्पादनको विक्री भइरहेको छ । उनले राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने र स्थानीय उत्पादनको प्रर्दशन गरिने भएकोले पनि हरेक दिन दर्शकहरुको भिड हुने गरेको बताए ।

Translate »