सुर्खेतमा वन्यजन्तुको उद्धारमै सकस

उपचार केन्द्र नहुँदा समस्या

स्काई न्यूज /माघ २०, सुर्खेत ।
सुर्खेतमा आधुनिक औजार तथा सरसमान नहुँदा बन्यजन्तु उद्धारमा समस्या हुने गरेको छ । डिभिजन वन कार्यालय सुर्खेतले चार दर्जन बढी वन्यजन्तुको उद्दार गरेपनि आधुनिक औजार तथा सरसमानको अभावमा अशक्त, घाइते, टुहुरा, तथा चोरी शिकारीको चपेटामा परेका वन्यजन्तुको उद्दारमा सकस भएको हो । दक्ष प्रशिक्षत तथा तालिम प्राप्त जनशक्ति अभावसँगै आधुनिक औजार तथा सरसमान नहुँदा पारम्पारिक तरिकाले वन्यजन्तुको उद्दार गर्न उच्च जोखिम रहेको सम्बन्धहरु बताउँछन् ।

जिल्लाका विभिन्न वन क्षेत्रबाट अशक्त, घाइते, टुहुरा, तथा चोरी शिकारीको चपेटामा परेका वन्यजन्तुको उद्दार गरि औषधी उपचारपछि सुरक्षित वासस्थानमा पुर्नस्थापित गर्दे आईरहेको डिभिजन वन कार्यालयले बताएको छ । ‘वन डढेलो, चोरी शिकारी, जंगली जनावर देख्ने वित्तिकै लखेट्ने, मार्ने प्रवृत्ति लगायतका कारणले वन्यजन्तुमाथि जोखिम बढ्दै गईरहेको छ,’ डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दहालले भने, ‘मुख्यतः प्रजननको अगाडि–पछाडी आहारको खोजीमा गाउँ पस्ने, गर्मी तथा वर्षातको समयमा जंगली जनावर माथि बढी जोखिम हुने गर्छ ।’ उनले त्यस्ता अशक्त, घाइते, टुहुरा तथा जोखिममा परेका वन्यजन्तुको उद्दार गरि सुरक्षित मुल बासस्थानमा छोडिने गरिएको जानकारी दिए । उनका अनुसार पछिल्लो डेढ वर्ष यता संरक्षित वन्यजन्तु पानीओत, सालक, घोरल, चितुवा, बंदेल, अजिंगर, भार्से, सारस, गिद्ध, लाटेकोशेरो, हुलचिल, दुम्सी, जरायो, चरिबाघ, मृग, चित्तल लगायत पाँच दर्जन बढी वन्यजन्तुको उद्दार गरिएको छ ।


कर्णाली प्रदेशमै वन्यजन्तुको उपचार केन्द्र नहुँदा वन कार्यालयले घाइते, अशक्त, टुहुरा वन्यजन्तुलाई पुर्नस्थापना केन्द्रमा उपचारपछि सामान्य अवस्थामा फर्केपछि सुरक्षित बासस्थानमा छोडिने गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ल्याएका घाइते, अशक्त वन्यजन्तुलाई भेटनरी अस्पतालको समन्वयमा पुर्नस्थापना केन्द्रमा औषधी उपचार गरि सुरक्षित बासस्थानमा छोडिने गरिएको वन कार्यालयका जमदार मंसाराम वली बताउँछन् । उनले डिभिजन वन कार्यालयकै समन्वयमा लेखबेसीको गंगामाला सामुदायिक वन उपभोक्ता समूहले समेत वन्यजन्तुको पुर्नस्थापना कार्य शुरु गरेको जनाए ।

‘वन्यजन्तुको उद्दार तथा उपचारका लागि भनेर कुनै विशेष बजेट तथा योजना बनाइएको पाईदैन्,’ उनले भने, ‘घरपालुवा जनावर जस्तै वन्यजन्तुहरु पनि विमार हुन्छन र उनीहरुको पनि औषधो उपचारसँगै बाँच्न पाउने अधिकारलाई सुरक्षित गरिनु पर्छ ।’ उनले वन्यजन्तुको कर्णाली प्रदेशमै अस्पताल नभएकाले सम्बन्धित पक्षले विशेष योजनाका साथ अगाडि बढ्न आवश्यक रहेको औल्याए । उनका अनुसार अहिले पनि डिभिजन वन कार्यालयको हाता भित्र रहेको वन्यजन्तु आश्रयस्थलमा दुई वटा चितुवाका बच्चा मध्ये उचित उपचारको अभावमा एउटा मृत्यु भईसकेको छ । अर्को व्यवस्था नहुन्जेलका लागि बचेको एउटा चितुवाको बच्चालाई एक सातादेखि जेनतेन पाल्ने काम भईरहेको उनको भनाइ छ ।


पछिल्लो समय वन्यजन्तु संरक्षणमा विभिन्न कारणले चुनौतीहरु बढ्दै गईरहेका छन् । संरक्षित वनक्षेत्र भित्र रहेका वन्यजन्तुको संरक्षण तथा व्यवस्थापन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा रहेको वाडेनले गर्दे आईरहेको छ । वाडेनसँग वन्यजन्तु संरक्षण तथा व्यवस्थापनका लागि पर्याप्त स्रोत साधान हुने हुँदा सहजै उद्दार, उपचार र पुर्नस्थापना हुने गरेको छ । तर, संरक्षित क्षेत्र बाहिरका वन्यजन्तुहरुको संरक्षण डिभिजन वन कार्यालयहरुले गर्नुपर्ने नियम रहेकाले पर्याप्त स्रोतसाधनको अभावमा प्रभावकारी सेवा पु¥याउन नसकिरहेको वन अधिकृत टेकबहादुर रावल बताउँछन् ।

उनले सीमित स्रोतसाधनका बाबजुदपनि वन्यजन्तुको संरक्षण, व्यवस्थापनमा प्रभावकारी सेवा दिईरहेको दावी गरे । यता काँक्रेविहारमा पर्यापर्यटनलाई समेत मध्यनजर गरेर वन्यजन्तुको उपचार केन्द्रसँगै चिडियाखानाको रुपमा विकास गर्न वीरेन्द्रनगर नगरपालिकाले सरकारसँग लविङ्ग गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । वर्षेनी अतिक्रमणको चपेटामा परेको क्राँक्रेविहारलाई समयमै तारवारसहित वन्यजन्तुको आश्रय स्थलका रुपमा विकास गर्न आवश्यक रहेको राष्ट्रिय उपभोक्ता मञ्चका सदस्य राजु केसीले बताए । उनले आश्रयस्थलमा वन्यजन्तु राखिएपछि त्यहाँ औषधोउपचारका लागि डाक्टरसहित अस्पताल समेत बनाउन उपयुक्त हुने धारणा राखें ।

Translate »