२०८३ असोज १४ , बुधबार
Sky News Nepal
September 30, 2026

साहित्य प्रवद्र्धनमा जुट्दै थारु अगुवा



स्काई न्यूज/ माघ २२, सुर्खेत ।
सुर्खेतका थारु अगुवा यतिबेला साहित्य प्रवद्र्धनमा जुटेका छन् । जंग्रार साहित्यिक बखेरी शाखा मार्फत सुर्खेतको वीरेन्द्रनगरमा बुधबार थारु अगुवा लखागीन साहित्य श्रृंखला प्रवद्र्धनमा जुटेका हुन् । काँक्रेविहारको पहाडलाई थारु भाषामा ‘लखागीन’ नाम दिएर उनीहरुले उपत्यका भित्र रहेका थारु समुदायको भाषा, कला, साहित्य एवं संस्कृतिको विकास गर्न आफुहरु जुटेको थारु अगुवा मानबहादुर चौधरीले बताए । ‘सुर्खेतका ३६ गाउँमा २०६८ सालको जनगणना अनुसार थारु समुदायको जनसंख्या ६ हजार ८ सय ९० रहेको छ,’ उनले भने, ‘थारु समुदाय भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा धनी भएपनि उचित प्रचारप्रसार तथा संरक्षण सम्वद्र्धनको अभावमा ओझेलमा परेका छन् ।’ उनले हाँसिएमा रहेको समुदायको भाषा, कला, साहित्यको उत्थानमा यो अभियानले कोसेढुङ्गा सावित हुने जिकिर गरे ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा, सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीले थारुहरुको मुल पहिचानसहित आ–आफ्ना बालबालिकालाई आफ्नै भाषा, कला, संस्कृति संस्कारमै दिन आवश्यक रहेको औल्याए । त्यस्तै जंग्रार साहित्यिक बखेरीका केन्द्रिय अध्यक्ष जोगेठ्वा सोम डेमनडौराले संविधानमा सबै समुदायको भाषालाई समान अधिकार दिएकाले थरुहट क्षेत्रमा थारु भाषालाई कामकाजको भाषा बनाउन साहित्यिक अभियानले टेवा पुग्ने धारणा राखे । कार्यक्रममा, मानवअधिकारकर्मी दिलबहादुर चौधरी, युवा साहित्यकार जेबी चौधरी, रामकृष्ण थारु, पवन चौधरी लगायतले आ–आफ्ना रचना सहित विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधबार
Translate »