लकडाउनले अल्लो उद्योगको बजारीकरणमा समस्या

बैशाख २८, दैलेख ।
दैलेखको नौमुले गाउँपालिकामा रहेको मालिका अल्लो प्रशोधन उद्योग लकडाउनका कारण प्रभावित बनेको छ । उद्योगले उत्पादन गरेको कपडा बजारीकरण गर्न समस्या भएकाले लाखौँको घाटा बेहोर्नु परेको हो ।जिल्लाकै एक मात्र अल्लो उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ (कटनको धागो) काठमाडौंबाट ल्याउन् नसक्दा समस्या भएको छ, भने अर्को तर्फ उत्पादन गरिएको सामान ‘स्टक’ रहेकाले उद्योगमा थप समस्या थपिएको उद्योगले बताएको छ । ‘जसका कारण उद्योगमा काम गर्ने उद्यमीहरुलाई चैत्र महीनादेखि कामदारलाई तलब दिन सकिएको छैन । अहिले उद्योगमा ४ जना महीला उद्यमीले काम गरिरहेका छन्, भने ३ जनाले काम छाडेर ‘होम क्वारेन्टाइनमा’ बसिरहेको उद्योगका सञ्चालक पदम खड्काले जानकारी दिए ।

‘हामीसँग ३०० मिटर भन्दा धेरै कपडा तयार भएको स्टक छ, उनले भने, तर, बजारीकरण गर्न नसकिएकाले उद्यमीको भुक्तानी दिन सकिएको छैन ।’ खड्काका अनुसार ‘खासगरी अल्लोका कपडा मेला, महोत्सवहरुमा धेरैजसो विक्री हुन्छ, भने काठमाडौं पनि पठाउँने गरिएको छ । अहिले त्यो सम्पूर्ण काम रोकिएको छ । डेढ महीनादेखि ३ जना कामदार उद्योगमा नआएको र आएकाहरु पनि कोरोनाको त्रासले डराई–डराई काम गरिरहेको उनको भनाइ छ । ‘लकडाउनको हालसम्मको अवधिसम्म करीब ५ लाख बराबरको घाटा बेहोर्नु परेको सञ्चालक खड्ले बताए । ‘ग्रामीण भेगमा सञ्चालनमा ल्याइएको उद्योग भएकाले यो समयमा कसरी नाफामा जाने र सञ्चालन कसरी गर्ने भन्ने विषयमा चिन्तित भएको खड्काले बताए । ‘राज्यबाट दिइने कुनै पनि अनुदान कागजमा मात्र सीमित नभएर वास्तवमै उद्यमीसम्म आउने गरी अनुदान प्रवाह गरिदिएको भए केही सहज हुन्थ्यो की,’ उनले भने । ‘आर्थिक समृद्धिका लागि उद्यमी सृजना भन्ने नारा भनिएपनि ग्रामीण क्षेत्रमा सञ्चालनमा आएका उद्योगतर्फ राज्यले चासो नदिँदा कम लागतमा सञ्चालमा आएका उद्योगहरु बन्द हुने गरेका छन् । यसबारे जिल्लामा रहेका उपभोक्ता हित संरक्षण कार्यालय, मेडपा दैलेख तथा स्थानीय सरकारमा केही सहयोगको माग गरिएपनि सुनुवाई नभएको उद्योगीले बताएका छन् । उद्योगका सञ्चालक खड्काले उक्त अल्लो उद्योग दुई वर्ष अघि मात्र साढे १३ लाखको लगानीमा सञ्चालनमा ल्याएका थिए ।