२०८३ भदौ १ , सोमबार
Sky News Nepal
August 17, 2026

दैलेखमा खेतीयोग्य जमिन बाँझो नराख्ने अभियानको शुरुआत



जेठ  २, सुर्खेत ।

कृषि विकास कार्यालय दैलेखले खेतीयोग्य जमिन बाँझो नराख्ने अभियानको शुरुआत गरेको छ ।‘रोगभन्दा भोकसँग लड्न निकै कठिनाइ’ हुने भएकाले भोकसँग लड्नका लागि ‘बाँझो जग्गा नराखौं, सक्नेलाई गर्न दिउँ’ भन्ने मुल नाराका साथ अभियानको शुरुआत गरिएको हो ।प्रदेश सरकारको निर्णय अनुसार नै बिहीवारदेखि उक्त अभियान प्रदेशभरि थालनि गरिएको छ । ‘श्रम दिवसको अवसर पारेर कृषि विकास कार्यालय दैलेखले पनि नारायण नगरपालिका–९ कोटीला क्षेत्र आसपासका रहेको बाँझो जग्गामा ‘गोरु जोतेर’ उद्घाटन गरेको हो ।

बाँझो जमिनको सदुपयोग गर्ने, युवाहरुलाई स्वरोजगारमुखी वातावरण सृजना गरी उत्पादनलाई वृद्धि गर्ने उद्देश्यका साथ उक्त अभियानको शुरुआत गरिएको कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए । अहिले भारतलगायत अन्य मुलुकबाट गाउँ भित्रिएका मानिसहरु बेरोजगार भएर गाउँमा बसिरहेका छन्,’ उनले भने ,‘अब कृषिका माध्यामबाट उनीहरुलाई रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ ।’दैलेख खाद्यान्नको अभाव हुने जिल्लाको रुपमा रहेको छ । महामारीको यस समयमा कृषि उत्पादनको वृद्धि गर्न सकिएन भने भोकमरी निम्तिन सक्ने भएपछि खाद्य जोखिमलाई कम गर्नका लागि बाँझो जग्गाको सदुपयोग गर्ने अभियान अघि सारिएको हो ।


उद्घाटन गरीएको जमिन वर्षैंदेखि बाँझो रहेकाले केही भागमा बेसार, अदुवा खेती र केही भागमा धान खेती गरिने छ । ‘सके आफैले गर्ने, नसके अरुलाई दिएर’ पनि खेतीयोग्य जमिनको सदुपयोग गरी जतिसक्दो बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने वातावरण बनाइने छ ।कर्णाली प्रदेशको सबैभन्दा पहिला दैलेखबाट यो काम शुरुवाती भएको छ । विधिवत रुपमा बिहीवारदेखि प्रदेश सरकारले उद्घाटन गरेपनि कृषि विकास कार्यालयले केही साता अघि देखिनै दुल्लू नगरपालिका–११ कालभैरवमा ३०० रोपनी बराबर क्षेत्रफल जमिनमा २२ घरधुरी परिवारका विदेशबाट घर फर्किएका बेरोजगार (कृषकहरुले) सामुहिक रुपमा बेसार खेती लगाउने काम गरेका छन् । त्यो ठाउँका कृषि विकास कार्यालय दैलेखले १० लाख अनुदान अथवा १० लाख बराबरको अनुदानको व्यवस्थापन गरेको कार्यालयले बताएको छ । ‘जबसम्म युवाहरुलाई कृषि क्रान्तिमा जोड्न सकिन्छ, तबसम्म खाद्यान्नको अभाव कायम रहने भएकाले अभियान निकै राम्रो भएको जिल्ला समन्वयन समिति दैलेखका प्रमुख प्रेमबहादु थापाले बताए ।’

प्रकाशित मिति : २०७७ जेठ २ गते शुक्रबार
Translate »