मुख्यमन्त्री शाहीद्वारा जमीन बाँझो नराख्न अपिल

जेठ १४,सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खाद्य संकट न्यूनीकरणका लागि बाँझो जमीनमा खेती गर्न कर्णालीवासीलाई अपील गरेका छन् । मंगलवार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै उनले खेतीयोग्य जमीन बाँझो नराख्न आग्रह गरेका हुन् । ‘कोरोना भाइरसको महामारीबाट खाद्य संकट हुन नदिन बाँझो जग्गामा समेत पुनः खेती शुरू गर्न प्रदेशवासीमा अपिल गर्दछु,’ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने । प्रदेशमा कृषि सामग्री तथा कृषि उपजको ढुवानी र खेतबारीको काम गर्ने वातावरण तयार पारिएको उनले बताए ।

लकडाउनमा आपूर्ति व्यवस्था बनाइराख्न अनुगमनका लागि उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको उनले जानकारी दिए । प्रदेश भित्रिने सीमा नाकाहरू सील गर्नुका साथै उच्च निगरानीका साथ अत्यावश्यक खाद्य तथा निर्माण सामग्री भित्रयाउने व्यवस्था गरिएको छ । आवश्यक सुरक्षा सतर्कता अपनाई प्रदेश सरकारका कार्यालय सञ्चालन गरिएका छन् ।प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेशिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना ‘ग्रूप आइसोलेसन’ तयार गरी सञ्चालन गर्न निर्देशन दिइएको उनले जानकारी गराए ।


कोरोनाका कारण रोजगारी गुमाएका र अन्य बेरोजगारहरूलाई लक्षित गरी मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न पालिकाहरूमा बजेट पठाइएको र यसबाट स्थानीय स्तरमा रोजगारी सृजना गर्न केही मात्रामा मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाइ थियो । ५० करोड रुपैयाँको प्रदेश विपद् व्यवस्थापन कोष खडा गरेर थप सहयोगका लागि आम नागरिक तथा कर्णालीका शुभेच्छुकहरूलाई आह्वान गरी कोषलाई महामारी रोकथाम तथा नियन्त्रणका लागि परिचालन गरिएको उनले बताए । उक्त कोषमा हालसम्म १ करोड ५० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी उनले दिए ।
चौरजहारी घटना दुःखद’
मुख्यमन्त्री शाहीले रुकुमको चौरजहारी घटनाप्रति दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका परिवारलाई उचित राहत प्रदान गरिने बताए । घटनाको छानबिन गर्दै दोषीमाथि कारबाहीका लागि निर्देशन समेत दिइसकिएको जानकारी उनले दिए । ‘२१औं शताब्दीमा समेत जातीय सद्भावविरुद्धका यस्ता घटना हुनु विडम्बना हो,’ उनले भने, ‘आम नागरिकलाई जातीय सद्भाव र एकता कायम राख्न अपिल गर्दछु ।’

Translate »