मौरीघार बेचेर वार्षिक रू. ६ लाखसम्म बचत

स्काई न्यूज/असार १७,सल्यान ।

सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरका बाल कुँवरले मौरीघार बेचेर वार्षिक रू.२० लाख आम्दानी गर्ने गरेका छन् । मजदुरको पारिश्रमिक, घर खर्च, काठ किन्दाको खर्च कटाएर वार्षिक रू.५ लाखदेखि ६ लाखसम्म बचत गर्ने गरेको उनले बताए । गत वर्ष ४९० ओटा घार मौरीघार विक्री गरेका उनले यो वर्ष ६०० ओटा घारको माग आएको बताए । एउटा घार रू. ३ हजार ५०० का दरले विक्री हुने उनको भनाइ छ । ‘मौरीको घारबाट मनग्गे आम्दानी हुँदै आइरहेको छ । गत वर्ष ४९० ओटा घार विक्रीबाट रू.१७ लाख १५ हजार आम्दानी भएको थियो’,उनले भने । यो वर्ष माहुरी ब्लक कार्यक्रमले ४०० ओटा तथा स्थानीय मौरीपालक किसानहरूले २०० ओटा भन्दा बढी घारको माग गरेकाले तुलनात्मक रूपमा आम्दानी बढ्ने उनको अनुमान छ । यो वर्ष रू.२१ लाख भन्दा बढीको कारोबार हुने उनले बताए । गत वर्षभन्दा यो वर्ष मौरी घारको माग बढी । घार बनाउन उनले ६ जनालाई रोजगारी समेत दिएका छन् । जिल्लाभित्र र बाहिरबाट घारको माग भइरहेकाले बजारको कुनै समस्या नरहेको उनले बताए । जाजरकोट, सुर्खेत र रुकुमसम्म आफुले तयार पारेको मौरीको घार विक्री हुने गरेको उनको भनाइ छ । सल्यानमा करीब ३०० जना किसानले व्यावसायिक मौरीपालन गर्दै आएको कृषि विकास कार्यालय सल्यानको भनाइ छ। चालू आर्थिक वर्षमा जिल्लाको कालिमाटी गाउँपालिकाको वडाहरू १, २, ३ र ४ लाई समेटेर माहुरी ब्लक र कुमाख गाउँपालिकामा मौरी पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्लामा वार्षिक करीब १९ मेट्रिक टन मह उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जानकारी दिएको छ ।

Translate »