सल्यानमा उत्पादकत्व वृद्धि गर्न कृषि औजार वितरण

स्काई न्यूज/असार २१, सल्यान ।
कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न सल्यानमा किसानहरूलाई कृषि औजार वितरण गरिएको छ । कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले जिल्लामा कृषि औजार वितरण गरिएको हो । किसानलाई खेती गर्न सहज होस भनेर ५० प्रतिशत अनुदानमा हाते ट्र्याकटर, सिँचाई ट्याङ्की वितरण गरिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले बताए ।

उनले भने, ‘गाउँमा गोरु पोल्ने चलन हराइसक्यो । काम गर्ने मान्छे पनि पाउन सकिँदैन । कृषि सरल र सहज बनाउन किसानहरूलाई कृषि औजार वितरण गरेका हौँ ।’कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारी गर्नु पर्ने भन्दै यसका लागि किसानहरूलाई सहयोग गरिएको उहाँको भनाई छ । तरकारी ब्लक र पकेट क्षेत्रका किसानहरूलाई ३१ वटा मिनी टेलर सहित सिँचाई ट्याङ्की ५० प्रतिशत अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले बताए ।

उनले भने, ‘जिल्लामा तरकारीका चार वटा ब्लक रहेका छन् । ती मध्ये दुई वटा ब्लक र एक पकेट क्षेत्रमा कृषि औजार वितरण गरिएको छ । ’कपुरकोट गाउँपालिका भित्रका रहेका दुई वटा तरकारी ब्लकमा २८ वटा र एक तरकारी पकेटमा तीन वटा ट्र्याकटर सहित बिउ, एक हजार लिटरका सिँचाई ट्याङ्की वितरण गरिएको आचार्यको भनाई छ । हाते ट्र्याकटर मार्फत कृषि कर्ममा लागेका किसानहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्न, खेतबारीमा सजिलै प्रयोग गर्न सकिने उनको भनाई छ ।

Translate »