बाँझो जमिनमा खेती गर्दै

स्काई न्यूज /असार २४, दैलेख ।
दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकाका २६ स्थानमा रहेको बाँझो जमिन सदुपयोग गरेको छ । पालिकाका वडा १ देखि ६ सम्मका २६ स्थानमा बाँझो जमिन सदुपयोग गर्दै डालेघाँस, अलैँची, फलफूल, कोदो, सिमी लगाउने काम सुरु गरेकोे भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए ।  कोरोना संक्रमण फैलिएका कारण गाउँमा फर्किएका युवाहरूलाई स्थानीय सहकारी र समूहमार्फत परिचालन गरेर गाउँमै रोजगारी दिने र बाँझो जमिन सदुपयोग गर्ने अभियान सुरु गरेको उनको भनाइ छ ।

पालिकाका सबै किसानहरूले उत्पादन गरेको कोदो, मकै, धान, गहुँ, तरकारी र अन्य कृषि उपज वस्तुहरूको मूल्य पहिले नै निर्धारण गरिदिने र बिक्री गर्ने स्थानसम्मको ढुवानी पालिकाले व्यहोर्ने नीति तयार गरिएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले जानकारी दिए । अहिले भगवतीमाई गाउँपालिका– ६ को चिफिनमा पौरखी सहकारी संस्थाले दुई सय रोपनीमा सिमी र कोदो लगाएको छ । किसानहरूले समूहगत रूपमा बाँझो जमिनमा लगाएका विभिन्न तरकारी, फलफूल र लोपोन्मुख बाली उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष गणेश रोकायले जानकारी दिए । गाउँमा बेरोजगार युवाहरूका लागि यस्तै महत्वपूर्ण कार्यक्रमहरू हरेक पालिकामा सुरु हुन सके बाँझो जमिनको सदुपयोग हुने र गाउँमै रोजगारी हुने रोकायको भनाइ छ ।

Translate »