सुर्खेतमा ढाडै सेक्ने गरी महँङ्गियो तरकारी

स्काई न्यूज /साउन १७, सुर्खेत ।
लकडाउन खुलेसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चहलपहल बढेको छ । त्यस्तै बाहिरबाट मानिसहरु प्रदेश राजधानी आउने क्रम पनि बढेको छ । जसले गर्दा अत्यावश्यक वस्तु तरकारीको मागसँगै मूल्य पनि ह्वातै बढेको हो । कृषि बजार समिति सुर्खेतका अध्यक्ष प्रवल शाहीले अक्सर वर्षाको समयमा तरकारीको मूल्यमा वृद्धि हुने तर अहिलेको सन्दर्भमा माग अनुसारको आपूर्ति हुन नसकेकाले मूल्य बढेको बताए । वीरेन्द्रनगरमा मानिसहरुको चहलपहलसँगै तरकारीको मूल्यमा दैनिक बढिरहेको उनले जानकारी दिए । उनले भने, ‘मान्छेको चहलपहल छ । तरकारीको मूल्य पनि दिनदिनै प्रतिकेजी करिब २० रुपैयाँले बढिरहेको छ र माग पनि बढिरहेको छ । तर तरकारी आएको छैन ।’ प्रदेश राजधानीमा तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा झण्डै १ सय प्रतिशतसम्म वृद्धि भएको छ । लकडाउनको समयमा निकै सस्तिएको तरकारीको मूल्य अधिक वर्षा, बाढी, पहिरो र डुवानको समस्या भएसँगै उत्पादन नै कम भएपछि महँगिएको हो ।
तरकारी उत्पादन गर्ने किसानले लागत मूल्य नै उठाउन नसकिरहेका बेला बिचौलियाले भने चर्को मूल्य असुलिरहेका छन् । यस वर्ष रातो आलुको मूल्य सबैभन्दा मँहगो भएको छ । गत वर्ष २५ रुपैयाँ प्रतिकिलोमा विक्री भएको आलुको थोक बजार मूल्य यस वर्ष प्रति किलो ६० रुपैयाँ पुगेको छ । काउलीको मूल्य पनि गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ भने मुला ४४ प्रतिशतले महँगिएको छ । गत वर्ष ३० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको काउली अहिले ६० देखि ६५ रुपैयाँ प्रतिकिलोमा थोक बजारमा विक्री भइरहेको छ । हरियो खुर्सानी र भेडे खुर्सानीको मूल्य पनि गत वर्षको तुलनामा क्रमशः ४५ र ५० प्रतिशतले वृद्धि भएको छ । थोक बजारमै तरकारीको मूल्य यसरी वृद्धि भएपछि खुद्रा बजार हुँदै उपभोक्तासम्म आइपुग्दा त्यसको मूल्य अझै दोब्बर हुने नै भयो । वीरेन्द्रनगर–११, की सुमन पोखरेलले कृषि बजार सुर्खेतमा तरकारी किन्न पुगेका बेला स्काई न्यूजसँग गुनासो गर्दै भनिन्, ‘तरकारी खानै नसकिने गरी महँगिएको छ । यो सबै विचौलियाको चलखेलका कारण हो ।’ व्यापारीहरु भने किसानले उत्पादन नै कम गरेकाले मूल्य वृद्धि भएको बताउँछन । उनीहरुको तर्क छ, ‘लकडाउनमा किसानले तरकारीको मुल्य पाएनन त्यसैले अहिले लगाउनै छाडे । अनि महँगिने नै भयो ।’ अत्यधिक वर्षा, बाढी, पहिरो, डुबान लगायतका समस्याले पनि तरकारीको मूल्य वृद्धि भएको केही ब्यापारीको भनाइ छ ।

तरकारी उत्पादन गर्ने किसानले आफ्नो लगानी पनि उठाउन नसकिरहेका बेला बिचौलियाले भने उपभोक्ता र व्यापारीको बीचमा बसेर चर्को मूल्य लिइरहेका छन् । बजारमा भइरहेको तरकारीको मूल्य वृद्धिको अनुगमन भने भएको छैन । त्यस्तै लसुनको मूल्य समेत बढ्दै गएको छ । माग अनुरुप बजारमा लसुन नपाइँदा मूल्य बढ्दै गएको हो । गत वर्ष ८० रुपैयाँमा कारोबार भएको प्रतिकिलो लसुन अहिले तीन सयभन्दा बढी भएको छ । नेपाली लसुनको बजार चिनियाँ लसुनले ढाकेको छ । नेपालमा सिजनमा मात्रै लसुनको उत्पादन हुने र उत्पादित लसुन पनि पर्याप्त नभएकाले चिनियाँ लसुन आयात हुने गरेको छ ।
अहिले चीनबाट सामानको आयात बन्द भएसँगै लसुनको आयात पनि रोकिएकाले बजारमा लसुनको मूल्य बढेको जानकार बताउँछन् । सुर्खेत कृषि बजार समिति सुर्खेतका अध्यक्ष शाहीले लसुनको आयात घट्दा बजारमा अभाव देखिएको दाबी गर्छन् । ‘मागको तुलनामा पूर्ति नभएकाले मूल्य आकासिएको हो,’ उनले भने । यो वर्ष भारतमा प्याजको उत्पादन घट्दा नेपालमा प्याजको मूल्य आकासिएको थियो । त्यस्तै अहिले चीनबाट लसुनको आयात रोकिँदा नेपाली बजारमा लसुनको मूल्य बढेको हो ।